काठमाडौं । ठमेलस्थित तिलिचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। तिलिचो साकोसकाका अध्यक्ष अनिल गुरुङको सभापतित्वमा यही पुष १३ गते स्वयम्भु ,काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गर्नुका साथै पुनः अनिल गुरुङको अध्यक्षतामा नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ।
आगामी चार वर्षको कार्यकालको लागि सर्वसम्मत निर्वाचित संचालक समितिमा अध्यक्ष अनिल गुरुङका साथमा उपाध्यक्ष चोङ्टे गुरुङ , सचिव लोपसाङ गुरुङ कोष-अध्यक्ष पेमा गुरुङ लगायत रहेका छन् । त्यस्तै ,तेन्जिङ गुरुङको संयोजकत्वमा लेखा समितिको पनि निर्वाचन सम्पन्न भएको छ।

साधारणसभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष गुरुङ द्वारा प्रस्तुत गरिएको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको हो। त्यससँगै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भए।
समीक्षा आ.व. मा संस्थाले आफ्ना शेयर सदस्यहरुलाई शेयर लाभांश कोषबाट चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश प्रदान गरेको छ। त्यस्तै , संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोष निर्देशिका २०७६ बमोजि बचत र ऋण उपयोगको आधारमा वितरण गर्न साधारणसभाबाट पारित गरेको छ।
समीक्षा आर्थिक वर्षमा २३६४ सदस्य रहेको यस संस्थाको शेयर पूँजी रु. ८.६८ करोड रहेको छ। यस वर्ष संस्थाको निक्षेप रु. १ अर्ब ३६.०५ करोड र कर्जा लगानी रु. १ अर्ब ३१ करोड रहेको छ। संस्थाले यस वर्ष आयकर अगाडि रु. २.८६५ करोड मुनाफा आर्जन गरेको छ।
साधारणसभामा संस्थाका कार्यकारी प्रमुख दिनेश गुरुङले सहकारी क्षेत्रमा संस्थाले प्राप्त गरेको सफलता र पहिचानलाई कायम राख्दै आगामी दिनमा थप परिस्कृत ढंगले संचालन गर्ने प्रतिबद्धता जनाएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend