काठमाडौँ । नेपालकै पहिलो ‘ राष्ट्रिय बाँस सम्मेलन’ को आयोजना हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना हुने भएको हो । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ नाराका साथ सम्मेलन हुने आयोजकले जनाएको छ । सम्मेलनको लागि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र ग्रिन बाम्बो क्रिएशन प्रालिको सहकार्य रहनेछ ।
सम्मेलनमा बाँस सम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र बिस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने, बाँसको प्रवर्धनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामाग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने उद्धेश्य रहेको आयोजकले जानकारी दिएका छन् ।
आइतबार (७ पुष ) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बाँसको अध्ययन तथा अनुसन्धानलाई थप बढवा दिने, आर्थिक उपार्जनका लागि बाँसलाई वैकल्पिक श्रोतको रूपमा विकास गर्ने, बाँसको व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए।
सम्मेलनमा एक सयजना सरकारी तथा गैरसरकारी निकायका सहभागी , एक सय जना वन उपभोक्ता समूह, पँचास विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र एक सय जना विद्यार्थी गरी ३५० जना बढीको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । सम्मेलनका गतिविधिहरू बाँस विज्ञहरूको प्रस्तुतीकरण, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामाग्रीहरूको स्टल प्रदर्शन, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend