सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल आँखा अस्पतालको २०औँ साधारणसभा; उपचारमा बीमा प्रणाली अवलम्बन गरिने

नेपाल आँखा अस्पतालको २०औँ साधारणसभा; उपचारमा बीमा प्रणाली अवलम्बन गरिने

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न गर्दै चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य रहेको जनाएको छ । गत वर्ष अस्पतालले एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएकोमा  यस वर्ष  करिब ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।

यही मंसिर २२ गते आयोजित  अस्पतालको २०औँ वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पुर्याउने लक्ष्य लिइएको जानकारी दिइयो । गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ । त्यसअवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा. अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु. तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए ।

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा  निकट भविष्यमै अस्पतालले बीमा  प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

साधारणसभाले अस्पतालका सचिव युद्धध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ । स्थापनाको ५१औँ वर्षमा रहेको अस्पतालले विशेषज्ञसहित १ सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दैआएको छ । अस्पतालले निजी क्षेत्रबाट चश्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चश्मा पसल सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आँखामा रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिन अपनाउन पर्ने सचेतना महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै  नेपाल आँखा अस्पतालले सेवा प्रवाह र गुणस्तरमा धेरै सुधार ल्याएकोमा  प्रशंसा गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend