काठमाडौं । सहलह: बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै सदस्यहरुलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.५ प्रतिशत लाभांश वितरण गरेको छ। गल्कोपाखा-२६, काठमाडौंस्थित संस्थाको साधारणसभा अध्यक्ष शान्तराज महर्जनको सभापतित्वमा यही मंसिर २२ गते कीर्तिपुरमा सम्पन्न भएको हो।
त्यस्तै , संस्थाले पूँजी वृद्धि गर्ने क्रममा समीक्षा आर्थिक वर्षमा रु. ४८ लाखको हाराहारीमा शेयर पूँजी वृद्धि गर्न सफल भएको जनाएको छ। समीक्षा वर्षको असार मसान्तसम्ममा संस्थाको चुक्ता पूँजी रु. १ करोड ७३ लाख ३७ हजार १ सय रहेको छ, जुन गत आ व को तुलनामा ३८.३३% को वृद्धि हो।
यस आ व मा कुल निक्षेप १५ करोड ४ लाख बढी र कुल कर्जा १२ करोड ४८ लाख बढी रहेको संस्थाको तरलता अनुपात ४०% रहेको छ।
साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को सहकारीको संचालक समितिको प्रतिवेदनका साथै वासलात , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण तथा लेखापरीक्षकको नियुक्ति लगायतका विषयमा सदस्यहरुबीच छलफल र सुझावसहित पारित गरेको छ।
संस्थाले अहिलेको बढी तरलतालाई ध्यान दिँदै चालू आर्थिक वर्षमा कारोबार रकम स्थिर राख्ने नीति लिएको जनाएको छ। संस्थाको सुरक्षित संचालनका लागि केही समयदेखि आवधिक बचत नयाँ लिन बन्द गरिएको र पुरानो आवधिक बचत अंक मात्र नविकरण गरिएको संस्थाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend