काठमाडौं । सोफा उत्पादक संघ , नेपालले प्रथम साधारणसभा सम्पन्न गर्दै तारालाल धरेलको नेतृत्वमा नयाँ कार्यसमितिको गठन गरेको छ। संघको साधारणसभा शनिबार (२२ मंसिर)काठमाडौंमा सम्पन्न भएको हो।
कार्यसमितिको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दीपेन्द्र धरेल, कोषाध्यक्षमा महेशराज थापा चयन हुँदा सदस्यहरुमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्त, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै सर्वसम्मत भएका छन् ।
कार्यक्रममा अध्यक्ष धरेलले फर्निचर उत्पादनमा स्वदेशी काठका सही प्रयोग गर्न पाउने वातावरण बनाउनुपर्ने धारणा राख्दै पुराना ऐन कानुनका कारण समस्या उत्पन्न भएकाले त्यसलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने बताए। अध्यक्ष धरेलले काठमाडौँमा हाल १०० को हाराहारीमा र देशभरमा करिब २०० को हाराहारीमा सोफा उत्पादकहरु रहेको जानकारी दिए । उनले यसबाट करिब १० हजारले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाएको बताउँदै यस क्षेत्रका समस्यामा सहजीकरणका लागि राज्यका निकायलाई अनुरोध गरे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले स्वदेशी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन राष्ट्रिय उत्पादन वृद्धि र सरकारी कार्यालयहरुमा स्वदेशी उत्पादन प्रयोग हुनुपर्नेमा जोड दिए। उनले आँफुले सम्भव भएसम्म स्वदेशी उत्पादन नै प्रयोग गर्ने गरेको बताउँदै सबैले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन आग्रह गरे। कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले बोलेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend