१५ पुस , काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लि. ले यातायात संचालनमा उचित सुरक्षा व्यवस्था तथा न्यायपुर्ण वातावरणको प्रत्याभूति हुन नसकेको बताएको छ। विभिन्न समयमा भएका सडक दुर्घटनामा निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अनुसार कामकारबाही हुनुपर्नेमा बसमा आगजनी गर्ने, यातायात संचालनमा अवरोध गर्ने तथा प्रहरी देखि सांसदसम्म पैसाको बार्गेनिङमा लाग्ने गरेकोमा अरनिको यातायात प्रा. लि. का अध्यक्ष केदार क्षेत्रीले चिन्ता व्यक्त गरेका छन् ।
मिति २०८० पौष ९ गते सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वि. पि. मार्गको बोहोराटार भन्ने स्थानमा मोटरसाइकल र बस ठक्कर खाँदा घटनास्थलमा नै दुईजनाको मृत्यु भएपछि भिडले अरनिको यातायातको बस जलाएको उल्लेख गर्दै अध्यक्ष क्षेत्रीले सुरक्षाकर्मिको उपस्थिति हुँदाहुँदै पनि उनिहरु मुकदर्शक भएर रहेका र सुरक्षा प्रदान नगरेका बताए । “प्रहरीबलकै अगाडि गाडी जलाइँदा पनि सुरक्षा पाइदैन भने कसरी व्यवसाय संचालन गर्न सकिन्छ ?”, ऊनी प्रश्न गर्छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं महानगरपालिकाको एउटा मात्रै बसपार्क संचालन गर्ने निर्णय अव्यावहारिक र यात्रुमैत्री नभएकोले लागु हुन नसकेको बताए । बागमती प्रदेशका मुख्यमन्त्री सहित काभ्रे , सिन्धुपाल्चोक , दोलखा लगायत पुर्वका ७५ भन्दा बढी पालिकाले अरनिको बसपार्क संचालनको सिफारिस गरेको भएपनी हालसम्म संचालन अनुमति नपाएको उनले बताए ।
अरनिको यातायातले ओखलढुंगा , सोलुखुम्बु , काँकडभिट्टा हुँदै आजबाट बिराटनगर दिवा बससेवा संचालन गरेको छ। हाल ७०० स्तरीय बसमार्फत १३ जिल्लामा सेवा दिएको अध्यक्ष क्षेत्रीले बताए । निकट भविष्यमा अनलाइन टिकट बुकिङको सुविधा दिइने पनि उनलेे जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend