बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

“साम्प्रदायिक विद्वेष फैलाउने सुदन किराँतीले राजीनामा दिनुपर्छ”

“साम्प्रदायिक विद्वेष फैलाउने सुदन किराँतीले राजीनामा दिनुपर्छ”

५ पुष ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको “कृश्चियन नमान्नेलाई जेल हाल्ने” धम्किपुर्ण अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । सभापति लामिछाने  जस्तै सबैजसो राजनीतिक व्यक्ति र आम नेपालीले मन्त्री किराँतीको उक्त साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्तिको विरोध गरिरहेका छन् ।

पुष ४ गते मंगलबार कृश्चियनहरुको धार्मिक कार्यक्रममा अन्य धर्मावलम्बीप्रती लक्षित मन्त्री किराँतीको ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन’ भन्ने अभिव्यक्तिले सामाजिक सद्भाव खलबलाउने लामिछानेको भनाई छ ।

आफ्नो पदीय गरिमा विपरीत, उत्तेजक र गैर जिम्मेवार अभिव्यक्ति दिनु खेदजनक भएको उनले बताए ।

साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री जस्तो व्यक्ति पदमा कसरी बस्न मिल्छ ? भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी हुन् र संविधानविरोधीलाई देशद्रोही करार गरेर झ्यालखानामा हाल्ने चेतावनी दिएका हुन । मन्त्रीको तहबाट आएको यो धम्की सामान्य होइन ।

मन्त्रीले संविधान नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने भनिसकेपछि संविधानमा के छ भनेर बुझ्नुपर्ने हुन्छ । धर्मनिरपेक्ष भन्नाले संविधानको धारा ४ मा सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता भनिएको छ ।

संस्कृतिमन्त्री किराँतीले संविधानको धारा ४ को ठाडो उल्लंघनमात्र गरेका छैनन्, धर्म परिवर्तनलाई दण्डनीय भन्ने संविधानको व्यवस्थाको समेत उल्लंघन गर्दै सार्वजनिक रुपमा क्रिश्चियन धर्म मान्न दबाबसमेत दिएका छन् ।

संविधानको धारा ४ ले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षण गर्ने दायित्व सरकारलाई सुम्पिएको छ । सनातनदेखि चलिआएको धर्म-संस्कृति भन्नाले हिन्दू, बौद्धलगायत ओमकार परिवारले मान्ने धर्म तथा स्वयं मन्त्री किराँतीको सम्प्रदायले मान्ने किराँत र प्रकृतिलगायतका परम्परागत धर्म-संस्कृति हुन् । तर, मन्त्री किराँतीले संविधानको धारा ४ नमान्न उक्साएर (उनकै शब्दमा) ‘देशद्रोह’ गरेका छन् । उनले भनेको मान्ने हो भने सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर हतकडी लगाउँदै झ्यालखानामा हाल्नुपर्छ । यो अरुको माग होइन, उनकै भनाइ हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend