२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै उनले तीनै तहका सरकारबीच सहकार्यमा जोड दिएका हुन् ।
परस्पर सम्बन्ध भएका काठमाडौं र ललितपुर नगरपालिकाहरु विकासका काममा पनि सँगसँगै हुनुपर्ने उनले बताए । त्यसका लागि संघीय सरकारले केही कानुनी अड्चनहरु फुकाइदिनुपर्ने उनले बताए ।
वार्षिकोत्सब कार्यक्रममा मेयर बालेनले भने, ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ । कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’
मेयर बालेनले त्यसका लागि केही काम दुबै पालिकाका मेयर र उपमेयरको तहबाट पनि गर्न सकिने तर केही कानुनी व्यवस्था बाझिएकाले त्यसको बाधा अड्चन फुकाइदिनुपर्ने बताए । विशेष गरी फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले त्यसमा सहजीकरण गरिदिनुपर्ने उनको भनाइ थियो ।
मेयर बालेनले भने ,‘केही केही कुराहरु हामी मेयरहरु, उपमेयरहरु बसेर पनि सल्टाउन सक्छौं । तर कुनै कुनै कुराहरु यस्ता छन्, संघीय कानुनमा स्थानीय कानुनमा बाझिएका छन्। फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौं । त्यो कुरा स्थानीय सरकार आफैंले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनु हुन सम्माननीय ज्यूलाई (प्रधानमन्त्री प्रचण्डलाई) यहीँबाट आग्रह पनि गरें, अनुरोध पनि गरें ।’ उपत्यकाको फोहोर व्यवस्थापन पाँच वर्ष वा ५० वर्षका लागि मात्र नभई दीर्घकालीन होस् भन्ने चाहना रहेको उनले बताए ।
मेयर बालेनले छिट्टै काठमाडौंको खोला अतिक्रमण र ललितपुरको फुटपाथ अतिक्रमण हट्ने विश्वास समेत व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend