बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्राकृतिक बचत तथा ऋणको १०% लाभांश पारित; पदाधिकारी चयन

प्राकृतिक बचत तथा ऋणको १०% लाभांश पारित; पदाधिकारी चयन

ललितपुर । प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारणसभाबाट सदस्यहरुलाई समिक्षा आ.व.२०७९/०८० को मुनाफाबाट १०% लाभांश प्रदान गरेको छ। सभाले संस्थाको वार्षिक प्रतिवेदन तथा आर्थिक विवरण पनि पारित गरेको छ ।

साधारणसभा प्रयोजनका लागि संस्थाले यही मंसिर २३ गते शनिबार सदस्य सेवाकेन्द्र शंखु , २८ गते बिहिबार सदस्य सेवाकेन्द्र टाहाखेल र २९ गते शुक्रबार रिलायवल सेवाकेन्द्र , च्यासल, ललितपुरमा गरि तीनवटा सेवाकेन्द्रका सदस्यहरुलाई सहज उपस्थितिको सुबिधा प्रदान गर्दै साधारणसभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको सभापतित्वमा मंसिर २९ गते च्यासल, ललितपुरमा सम्पन्न समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेबी मल्ल, ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार गोर्खाली, सहकारी अखबारका सम्पादक खिलानाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार समेत रहेकी ओमदेबी मल्लबाट स्थापना गरि प्रत्येक वर्ष संस्थाले प्रदान गर्ने नगद रु. १५०००/- राशिको केशव बडाल पत्रकारीता पुरस्कारबाट सम्पादक खिलानाथ दाहाललाई सम्मान गरिएको छ। अघिल्लो वर्ष १३औं सभामा सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

त्यस्तै सभामा यस सहकारीका उत्कृष्ट कर्मचारी र उत्कृष्ट शेयर सदस्यहरुलाई पनि पुरस्कृत गरियो।

सभाले संचालक समितिको रिक्त पदमा पदाधिकारीको चयन गरेको छ, जसमा वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि बन्जारा, सचिव श्यामकृष्ण चौलागाईं , कोषाध्यक्ष राजेन्द्र रावल लगायत चयन भएका छन् ।

सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीले सहकारी अभियान सबै नागरिकको जीवनपद्धतिमा समावेश हुनेगरी संचालित हुनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष मल्लले हाल केहि सहकारीमा देखिएका समस्यालाई सरकारले उचित तरिकाले समाधान गर्नुपर्ने बताइन् । सहकारी संचालकलाई थुनेर मात्रै समस्या समाधान हुन नसक्ने र सरकारले सहकारीकर्मी माथिको धरपकड र ज्यादती रोक्नुपर्ने उनलेे बताएकी छन् । सहकारी संस्थाहरु पनि सहकारीको मर्म अनुरुप सदस्यहरुको हितमा केन्द्रित हुनुपर्ने मल्लले बताइन् ।

समिक्षा आर्थिक वर्षको अन्त्यमा जम्मा शेयर पुँजि रु.६६,३४८,९००/- रहेको यस सहकारीको कुल पुँजि तथा दायित्व रु.८२८,३७८,४३५/- रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend