कविता
– हरिभक्त सिग्देल ” महेश “,
छन् जीवन यता धेरै हिड्ने बोल्ने र घस्रने
स्थिर छन् कतिका जीव कति छन् अन्य दाैडने।
ज्ञानी छन् यी कुनै जीव अज्ञानमा कुनै हुने
कुनै छन् सृष्टि साराकाे खाेज पितृ बुझाउने ।।
अज्ञान ज्ञानका साथै चिन्तन र गवेषण
जीवन रूपमा रङ्ग विभिन्न नै छ चित्रण ।
मनुष्य प्राणमा श्रेष्ठ अजम्बरी सनातन
मर्दैन ऊ मरें मान्छ अबुझ पन हाे तन ।।
वायु छ श्वास ऊ फेर्छ आगाे छ र पचाउँछ
धर्ती छ पाउले टेकी जीवन्त हुन ज्यूँदछ ।
जल जीवनले प्यूँछ आकाशतिर नाँच्दछ
सूर्य चन्द्र समालेर सारा सृष्टि अटाउँछ ।।
यत्ति हुन् देव या देवी अन्तरिक्ष अनन्त छ
मानव मात्र हाे प्राणी अमरत्व स्विकार्दछ।
अमर छन् सबै प्राणी मृत्युकाे मान्दछन् भय
परिवर्तन भो हुन्छ देखिने तनको वय ।।
आयु छ सृष्टिकाे सारा प्रलय हुन्छ निश्चितै
छुट छैन कसैलाई त्याग्नु पर्दछ देह है ।
शरीर ह्वैनाैँ है हामी हामी हाैँ अजरामर
मर्दैनाैँ न त जन्मन्छाैँ सनातन सधैँभर ।।
जाे मरेकाे भनी मान्छ ऊ मर्छ तर जीवित
मात्र स्विकार गर्दैन शरीरसँग हार्दछ।
जाे अनन्त छ यो आत्मा आफू हुँ भनी मान्दछ
मर्दैन ऊ यता कैल्यै अमरमा रमाउँछ ।।
न साेसिन्छ हवाद्वरा न आगाेले जलाउँछ
न पानीले कतै गल्छ न आत्मा यो विलाउँछ।
सत्य अमर नै यो छ आत्माले झल्मलाउँछ
दृढता नहुँदा मान्छे असत्य लहराउँछ ।।
मर्दैन अनि जन्मन्न सदावहार सत्य त्याे
झलमल्ल भई दीप ज्याेतिमा रही बस्छ यो ।
एकमात्र सदा हुन्छ आत्मा सर्वत्र सत्य छ
न देखिन्छ न लेखिन्छ अदृश्य भई बस्तछ ।।
चिन्तना शब्दमा छैन न दृश्य न त प्राप्य छ
त्यो छ छ छ आफैँमा सर्वत्र सर्वकाल छ।
सजिलो छ सदाकाल उपस्थित समीपमा
तर देखिन्न जानिन्न बिना ज्ञान छ दीपमा ।।
सर्वत्र छ र सृष्टि छ चलायमान सर्वदा
उसकै शक्तिमा चल्छ ज्ञान विज्ञान सर्वदा।
ऊ छ र नै छ याे सृष्टि हामी छाैँ र त लेख्दछाैँ
दिव्य दृष्टि भए हामी आफैँ अन्तर देख्दछाैं ।।
यो कविता हरिभक्त सिग्देलको फेसवुकवाट साभार गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend