बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जलवायु परिवर्तनबाट नेपाली व्यवसायमा प्रभाव र अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक

जलवायु परिवर्तनबाट नेपाली व्यवसायमा प्रभाव र अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक

काठमाडौं ।    जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको छ ।  नेपाल उद्योग परिसंघ (सिएनआई) र पीडब्लूसी भारतले संयुक्त रुपमा अध्ययन गरि उक्त प्रतिवेदन तयार  गरिएको हो ।

सिएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रुपमा यसलाई महत्वपूर्ण मानिएको छ ।

जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरुले सामना गर्ने जोखिम तथा समाधानका उपायहरु अध्ययन प्रतिवेदनमा सुझाइएको छ । यसले  व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्बन गर्न, मूल्य श्रृंखला एवं  जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरू कसरी पूँजीकरण गर्न सकिन्छ भन्ने विषयहरु प्रतिवेदनमा समेटिएका छन् ।

विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । जलवायु परिवर्तनबाट सृजित चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यवसायिक क्षेत्रबीचको सहकार्य महत्वपूर्ण छ ।

उक्त अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायहरूको लागि रोडम्याप तयार गर्न ठोस कदमहरू र योजनाहरूको रूपरेखा प्रस्तुत गरेको बताए । यसमा जोखिम न्यूनीकरण रणनीतिको रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरूलाई समर्थन गर्ने सरकार, बहुपक्षीयरद्विपक्षीय एजेन्सीहरू जस्ता विभिन्न सरोकारवालाहरुको भूमिकाका विषयहरु समेत समेटिएका छन् ।

पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशक जयवीर  सिंहले जलवायु अनुकूलन व्यवसायका लागी एक जिम्मेवारी मात्र नभएर रणनितीको  आवश्यकता रहेको बताए । जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिम सहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । यस प्रतिवेदनले एक लचिलो र दिगो व्यवसायीक वातावरण निर्माण गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले  विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका  रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित  राष्ट्रहरु मध्ये एक रहेको बताए । जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्वपूर्ण हुने बताए ।

प्रतिवदेनले नेपाललाई जलवायु परिवर्तन अनुकुलनलाई बुझ्न र सम्बोधन गर्नका लागी महत्वपुर्ण मार्गनिर्देशन प्रदान गर्नेछ । यो रिपोर्ट व्यवसाय, नीति निर्माताहरू र संस्थाहरूका लागि जलवायु परिवर्तन अनुकुलन गर्न महत्वपुर्ण स्रोत हुने विश्वास गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend