बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सबै लठ्ठक ठान्दछ ।

सबै लठ्ठक ठान्दछ ।

कविता

– हरिभक्त सिग्देल ” महेश “,
म बाठाे छु ऊ लाटाे छ सबै लठ्ठक ठान्दछ
म जान्दछु म नै जान्ने नजान्ने सब मान्दछ ।
अहङ्कार बढी हाे वा मैमात्र एक हूँ भनी
गर्जिंदै गर्न त्याे थाल्छ मन जे ठान्छ जीवनी ।।

न्याय अन्याय हेर्दैन सत्यासत्य पनि अनि
स्वार्थमा नै दिने गर्छ दृष्टि मेराहरू भनी ।
हुन्न देश न छन् भेष नागरिक कुनै पनि
स्वार्थ र छ अहङ्कार अर्जुन दृष्टिमा अनि ।।

के हाेला याे मातृभूमि सार्वभाैम भनीकन
चिच्याई हुन्न क्यै कैल्यै कर्म खाेज्दछ याे मन ।
जनता जन्मको भूमि छिमेकी मित्रका प्रति
गराैँ सम्मान साथैमा अात्म सम्मान सम्मति ।।

स्वदेश जनताका यी रक्षाका निम्ति सर्वदा
सचेत चिन्तना गर्ने नागरिक यी सर्वदा ।
हिमाल वन पाहाड तराई र उपत्यका
नहाेस् विभेद यो कैल्यै नेपालीहरू माँझका ।।

नेतृत्वदेखि यो रुन्छ साेच दृष्टि र ज्ञानका
वडा नगर भन्दा क्यै छैनन् यी साेच राष्ट्रका।
अल्पवुद्धि छ यो जीर्ण हाँक्छु देश ऊ भन्दछ
छैन वय कठै पाँच झुण्ड्याई देश हिड्दछ ।।

श्राप हाे नभनाैँ अाज न चिना न त भाग्य नै
कायर छौँ सबै हामी राज गर्दछ नीच नै ।
जस्ताे छ भूमि यो बीज त्यस्तै नै फल फल्दछ
नगरे क्रान्ति बिग्रन्छ राेगीले राज्य हर्दछ ।।

न छन् ज्ञान न छन् ध्यान अाडम्बरी भएर नै
धन र बलका साथ हर्दैछन अझ दुष्टझैँ ।
बलात्कृत छ यो राष्ट्र हामी छौँ सब दर्शक
अपराध अरू हुन्नन् याे भन्दा भयवर्धक ।।

स्वार्थी व्यक्ति र पार्टी छन् उठ माथि सबै उठ
नागरिक सबै देश मनमस्तिष्कले जुट ।
मिलाऊ हातमा हात काँधकाे काँधमा भर
सद्उद्देश्य हुने प्राप्ति नमान्नु है कुनै डर ।।

मातृभूमि र यी देशवासी अर्जुन दृष्टिमा
भए उठ्नेछ याे देश सत्कर्म यही सृष्टिमा ।
स्वार्थ हाेस् देशका निम्तिजनताहरूमात्रमा
यही भाव भए पुग्छ सबैका मन कर्ममा ।।

हरिभक्त सिग्देलको फेसबुकबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend