काठमाडौं । श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष अनुप कुमार उपाध्यायको सभापतित्वमा यही मंसिर २६ गते मंगलबार सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
साधारणसभाले समिक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। त्यस्तै , रिक्त संचालक पदमा बाँकी अवधिका लागि नियुक्त गरिएका संचालकहरुलाई सभाले अनुमोदन गरेको छ।

कार्यक्रममा कार्यकारी संचालक डा. सुवर्ण दास श्रेष्ठले कम्पनी तथा आयोजनाको पछिल्लो अवस्थाबारे शेयरधनी समक्ष जानकारी प्रदान गरे। उनले कम्पनीको उत्कृष्ट संचालन र व्यवस्थापनको लागि व्यवस्थापन समूह प्रतिबद्ध रहेको बताए ।
शेयरधनिहरुको प्रश्न र जिज्ञासाको सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले आयोजना निर्माण अवधिमा कोभिड र विविध कारणले लागत र समय बढन गएको भएपनि अब आयोजना पुर्ण क्षमताका संचालन भएको र केहि वर्ष भित्रमा लाभांश दिनसक्ने बताए।
अधिकांस शेयरधनिहरुले सानिमा ग्रुपका व्यवस्थापनमा संचालित आयोजनाहरु संतोषजनक रूपमा संचालन भईरहेका र प्रतिफल दिन सक्षम रहेका बताए । त्यस्तै , आयोजनाले जलाधार क्षेत्रको संरक्षणमा गरेको प्रयासको पनि उनीहरुले प्रसंशा गरे।
यस कम्पनीद्वारा रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग गरी प्रवर्द्धन गरिएको २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरी गत वर्ष, मिति २०७९ कार्तिक १९ गतेबाट व्यापारिक उत्पादन शुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणले मिति २०८० आश्विन १० गते न्यू खिम्ती सव-स्टेशनको १३२/२२० के. भी., २०० एम.भि.ए. को ट्रान्सफर्मर र २२० के. भी. को जि. आई. एस सव-स्टेशन चार्ज भई सो मार्फत विद्युत प्रवाह शुरु भएको हुँदा तल्लो लिखु जलविद्युत केन्द्र, जलप्रवाहको उपलब्ध परिमाण अनुरुप पुर्ण क्षमतामा सञ्चालन हुन सफल भएको कम्पनीले जनाएको छ।
आयोजनाबाट २०७९ कार्तिक १९ गतेबाट व्यवसायिक विद्युत उत्पादन प्रारम्भ भए पश्चात् आर्थिक वर्ष २०७९/८० को करिब ८.५ महिनामा ७,६५,५१,०२६.८१ (सात करोड पैसठ्ठी लाख एकाउन्न हजार छब्बीस दशमलव एकासी) किलो वाट घण्टा विद्युत उत्पादन भई, नेपाल विद्युत प्राधिकरणबाट विद्युत खरिद वापत रु. ४३,६७,१८,००१.००/- (अक्षरेपी त्रिचालिस करोड सतसठ्ठी लाख अठार हजार एक रुपैया मात्र) प्राप्त भएको कम्पनीले जनाएको छ। त्यस्तै, आ. व. २०८०/८१ को पहिलो त्रैमासमा विद्युत उत्पादनको अवस्था सन्तोषजनक नै रही ५,३८,९५,८३३.६१ (पाँच करोड अठतिस लाख पन्चानब्बे हजार आठ सय तेत्तीस दशमलव एकसठ्ठी) किलो वाट घण्टा विद्युत उत्पादन गरी सो वापत रु. २५,८७,००,०९३/- (अक्षरेपी पचीस करोड सत्तासी लाख त्रियानब्बे रुपैंया मात्र) रकम प्राप्त गर्न सफल भएको कम्पनी ले जनाएको छ।
त्यस्तै, कम्पनीको व्यवसायीक उद्देश्य अनुसार थप आयोजनाहरु निर्माण तथा संचालन गरी लगानीकर्ताहरुलाई अधिकतम लाभ दिन गृहकार्य गर्ने क्रममा तल्लो लिखु जलविद्युत आयोजनाको टेलरेसको पानी उपयोग गरि विद्युत निकाल्न, तल्लो लिखु क्यास्केड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन (Feasibility Study) कार्य अगाडि बढाईएको कम्पनीले जनाएको छ । विद्युत विकास विभागबाट मिति २०७९ चैत्र २६ गते विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र (वि.उ.स. १२३२) प्राप्त गरेको र भौतिक संरचनाहरु रहने सम्भावित क्षेत्रको टोपोग्राफिक सर्वेक्षण (Topographic Survey) कार्यका लागि परामर्शदाता कम्पनी सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ्ग प्रा. लि. सँग मिति २०८० वैशाख २५ गते सम्झौता भई, विभिन्न क्षमता र विकल्पहरुको अध्ययन भइरहेको जानकारी कम्पनीले दिएको छ । आयोजनाको अध्ययन सम्पन्न गरी, विद्युत खरिद सम्झौताको लागि नेपाल विद्युत प्राधिकरण समक्ष आवेदन गर्ने तयारी भईरहेको उसले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend