२० मंसिर , काठमाडौं । इनर्जी ड्रिंक रेडबुलले नेपालमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको अत्याधुनिक फ्याक्ट्री उद्घाटन गरेको छ। व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले पूर्वी नवलरासी जिल्लाको अमरापुरीमा निर्माण सम्पन्न गरेको उत्कृष्ट वातावरणमैत्री उद्योगको यही मंसिर १९ गते मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।

रेडबुल नेपालले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो ।
यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत् वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा उद्योगको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा टीसीपीका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या लगायत अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।
अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ । यो रेडबुलको नेपालमै स्थानीय उत्पादन तथा ब्रान्डको यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा हुने बताइएको छ ।
साथै यसले स्थानीय स्रोत–साधनहरुको सशक्तीकरण तथा वातावरणीय दिगोपनप्रति समेत प्रतिबद्धता दर्शाउने कम्पनीले जनाएको छ ।
सरस बेभरेजेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले भने, ‘सरस बेभरेजेजको अत्याधुनिक अमरापुरी फ्याक्ट्रीमा हामी गर्वका साथ प्रतिष्ठित रेड बुल उत्पादन गर्दैछौं ।
वातावरणीय दिगोपनप्रति हामी सदैव प्रतिबद्ध छौं । त्यसैले फ्याक्ट्रीको आधा बिजुली वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं ।’
रेडबुलको फ्याक्ट्री स्थापना पश्चात अन्तरराष्ट्रिय ब्रान्डहरुलाई नेपालमा उद्योग अनुकुल वातावरण रहेको सकारात्मक सन्देश जाने समेत उनले विश्वास दर्शाए ।
प्रतिष्ठित ब्राण्ड रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौं देश हो । पहिलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड हो भने त्यसपछि भियतनाम तथा चीन हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend