अभिनेत्री सविना कार्कीको पछिल्लो समय फिल्म तथा म्युजिक भिडियो अभिनयमा समेत उत्तिकै व्यस्तता कायम छ । ०६६ सालमा सोभित बस्नेतको दुलही रानी फिल्मबाट डेब्यु गरेकी सविनाले त्यसपछि एटिएम, छल, द फेमस, छल, लाटी, गुड फ्रेन्ड, वान साइड लभ, सरप्राइज, वाचा, गोल, पुजारीलगायत फिल्ममा अभिनय गरिन् ।
फिल्मका साथै म्युजिक भिडियो अभिनयमा समेत उनी सक्रिय छिन् ।
छोटो समयमै चर्चा कमाउन सफल सविनाले अहिलेसम्म साढे दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । काम छिटो हुने, पारिश्रमिक प्राप्त भइहाल्ने र दर्शकमाझ पुगिहाल्ने भएकाले
सविनालाई फिल्मभन्दा म्युजिक भिडियो सजिलो र छरितो लाग्दो रहेछ । ‘सामान्यता एउटा म्युजिक भिडियोको सुटिङ एकै दिनमा सकिन्छ । डबिङ, पब्लिसिटी पनि गर्नुपर्दैन । पारिश्रमिक पनि पाइहालिन्छ ।
त्यसैले फिल्मभन्दा भिडियो सजिलो छ,’ उनी भन्छिन, ‘कतिपय फिल्म रिलिज हुनै समय लाग्छ । तर, भिडियो भने केही दिनमै दर्शकमाझ आइहाल्छ । जसले गर्दा आफ्नो कामको मूल्यांकन पनि भइहाल्छ । कुनै कुरा कमजोर भएको छ भने अर्काेमा सुधार्न पाइन्छ ।’ हिरोइनका रूपमा करिअर अघि बढाउँदै गर्दा म्युजिक भिडियोलाई पनि साथै लगेकी उनले प्रायः सबै चर्चित गायक–गायिकाका गीतका भिडियोमा अभिनय गरिसकेकी छिन् ।
गीत राम्रो छ भने अभिनय गर्न पनि बेग्लै उमंग आउने अनुभव उनको छ ।फिल्म तथा भिडियो अभिनयबाट नै सानदार जीवनशैली व्यतीत गरिरहेकी उनी कलाकारिताको दुनियाँ नै आफ्नो संसार भएको बताउँछिन् । उनी अभिनीत गोल फिल्म पुस २० मा प्रदर्शन हुँदै छ । आफू माघदेखि नयाँ फिल्मको सुटिङमा व्यस्त हुने उनले बताएकी छिन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend