काठमाडौं । एनएमबि बैंकले बचतकर्ता र साना व्यवसाय गर्नेहरुलाई लक्षित गर्दै आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले राजधानीमा पत्रकार सम्मेलन गरी ७ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । ७ प्रकारका कर्जा योजना अन्तर्गत व्यावसायी कृषि तथा पशुपंक्षी कर्जा,शिक्षित युवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्प पीडितहरुको निजी आवास निमार्ण कर्जा र महिला उद्यमशीलता कर्जा रहेका छन् ।
जसमा क्रमश १० लाख,७ लाख, १० लाख, १० लाख, ५ लाख, ३ लाख, १५ लाख सम्म कर्जा पाउन सकिनेछ । कर्जा योजनाको व्याजदर सस्तो हुने बैकले जनाएको छ । यस्तो कर्जा बढीमा पाँच वर्षको लागि प्रदान गरिने छ । कर्जा लिन व्यवसायिक योजना पेश गर्नुपर्छ । शैक्षिक कर्जा लिन कम्तिमा स्नातक पास गरेको, ४० वर्ष भन्दा कम उमेरको, कम्तिमा ७ दिन सम्बन्धित व्यवसाय गर्न तालिम लिएको हुनुपर्नेछ । त्यस्तै बैकले ल्याएको एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खातामा ७ प्रतिशत व्याजसहित बचतकर्ताको १० लाख रुपैयाँ बीमा हुने बैंकले जनाएको छ ।
विपन्न वर्गका जनतालाई सहुलियतपूर्ण कर्जा दिने सरकारी नीतिलाई समर्थन गर्दै बैंकले सात प्रकारका कर्जाहरुमा विनाधितो प्रदान गरिने र त्यसको व्याज करिब ८ प्रतिशत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो । यस्तो कर्जामा कुनै पनि प्रकारका शुल्क नलाग्ने प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले जानकारी दिए ।त्यस्तै, बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा पाउने छन् ।
यस्तो कर्जा लिन धितो आवश्यक हुनेछ । एनएमबी बैंकले निक्षेपकर्ताहरुलाई “एनएमबि सहारा बचत खाता” नामक नयाँ योजना ल्याएको छ । एक हजार रुपैयाँ बचत राखेर खोल्न सकिने यस खातामा निक्षेपकर्ताले ७ प्रतिशत व्याज र १० लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउने छन् ।
बैंकले विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएको अवस्थामा बैंकले निक्षेपकर्तालाई बीमा वाफत १० लाख रुपैयाँ भुक्तानी दिनेछ । बचतकर्ताको बीमा शिखर इन्स्योरेन्समा हुनेछ । बचतकर्तालाई गम्भिर रोगहरु लागेको रिपोर्टसहित डाक्टरले सिफारिस गरेपछि उपचार हुनु पूर्व नै बीमा दावी भुक्तानी गरिने शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend