काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक लामो समय पछि बस्न सफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गरे । धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशको राजनीतिक परिस्थिति र स्थायी कमिटी बैठकको औचित्यका बारेमा धारणा राखेका थिए ।
त्यस्तै अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि प्रकाश पारेका थिए । अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसर प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभूतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मकरुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभारा पूरा गर्न सामूहिक ढङ्गले पहल गर्नुपर्नेमा जोड दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनको पूरकका रुपमा छुट्टै प्रतिवेदन पेश गरेका छन् । अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पुर्याउने उद्देश्यले गौतमले बैठकमा थप प्रस्ताव पेश गरेको प्रवक्ता श्रेष्ठले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend