सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

साउदी अरबमा यसरी फस्दैछन ड्राईभर भिषामा जाने नेपाली

साउदी अरबमा यसरी फस्दैछन ड्राईभर भिषामा जाने नेपाली

विजय दमासे
काठमाडौँ । साउदी अरबमा सवारी चालक (ड्राईभर) को काम गर्न गएका नेपालीहरुलाई फसाउन थालिएको छ । त्यहाँका कम्पनीहरुले डाइभर भिषामा नेपाली कामदार लैजाने तर त्यहाँको लाइसेन्स नबनाईदिई सवारी चलाउन लगाउँदा नेपालीहरु फस्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण बुद्धशान्ति गाँउपालिका ४ झापाका प्रशान्त लिम्बु हुन । उनी त्यस्तै काण्डमा फसी पिएनसिसिको सहयोगमा ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फर्कन सफल भएका छन् ।

उनका अनुसार यस्ता केशमा साउदीको जेलमा दर्जनौं फसी रहेका छन् । साउदी अरबस्थित कराम अल खालिजा फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीले गाडीको तेस्रो पक्षको बिमा नगर्दा र लाइसेन्स उपलब्ध नगराउँदा लिम्बुले ब्लडमनि बुझाउनुपरेको बताए । उनका अनुसार उनले चलाएको गाडीमा ठोकिदाँ एक साउदी नागरिकको मृत्यु भएको थियो । त्यसपछि मुद्दा प्रक्रिया सुरु भएको र अदालतले लिम्बुको ७५ प्रतिशत गल्ती देखाएको थियो ।

‘कम्पनीको बदमासीले गर्दा म फसेँ,’ उद्धारमा संलग्न प्रवासी नेपाली समन्वय समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा लिम्बुले भने, ‘गाडीको तेस्रो पक्षको बिमा थिएन । मलाई लाइसेन्स दिएन । जबर्जस्ती गाडी चलाउन बाध्य पारियो ।’उनले लाइसेन्सबिना काम नगर्ने अडान राख्दा कम्पनीले ३० हजार रियाल माग गरेको थियो । ‘३० हजार रुपैयाँ बुझाउन सकिनँ,’ उनले भने,‘त्यो बुझाउन नसक्दा गाडी चलाउनुर्पयो ।’ लिम्बुको उद्धारको लागि प्रवासी नेपाली समन्वय समितिले १५ लाख ४४ हजार, प्रेम बचाउ अभियान मुल समिति १५ लाख, प्रशान्त लिम्बु देश फर्काउ अभियान झापाले ५ लाख, किरात याक्थुङ चुम्लुङले ८० हजार रुपैयाँ र प्रशान्त लिम्बु देश फर्काउ अभियान ताप्जेजुङले ५६ हजार रुपैयाँ संकलन गरी परराष्ट्र मन्त्रालय बुझाएको थियो ।
लिम्बु २०७३ साउन २६ गते एक मेनपावर कम्पनी मार्फत साउदी गएका थिए ।

साउदी गएको ९ महिनापछि अर्थात् २९ अप्रिल २०१७ मा दुर्घटना भएको थियो। दुर्घटनापछि उनी ८ महिना जेल बस्नुपरेको थियो । प्रवासी नेपाली समन्वय समिति अध्यक्ष कुलबहादुर कार्कीले अदालतले माग गरेको बमोजिम ब्लडमनि तिरेपछि मात्रै लिम्बु नेपाल आउन सम्भव भएको बताए ।उनका अनुसार यसरी नेपाली कामदारलाई त्यहाँका कम्पनीहरुले फसाउँदा नियमन गर्ने नेपाली दूतावास, नेपाल सरकार रमिते छन् । त्यसकारण फसिसकेपछि उद्दारमा समेत कठिनाइ हुने गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend