काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले समाचार लेख्दा नकारात्मक मात्र भन्दा पनि समाधान हुने खाल्का सकारात्मक समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघको चौथो महासभालाई सम्बोधन गदै मन्त्री बास्कोटाले सडकमा भएका खाल्टा खुल्टीका समाचार लेख्न भन्दा खल्टाखुल्टी कसरी पुर्न सकिन्छ भन्ने तवरले समाचार लेख्न पत्रकारलाई सचेत पारे ।
सभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक पत्रकारहरुको एउटै र बलियो संगठन बनाउन सुझाव दिए । पत्रकारिताको माध्यमबाट सरकारको आलोचना गर्न खुला आव्हान गर्दै खतिवडाले आम पत्रकारहरुको गल्ती आंैल्याउने निकाय नभएकाले आफैले गल्ती नगर्न सुझाव दिए ।
सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएको तर, सधै प्रतिपक्षी दलजस्तो राम्रोलाई पनि नराम्रो लेख्ने परिपाटी ठीक नभएको उनले बताए ।
‘तपाईहरु भनेको पत्रकार हो, प्रतिपक्षी दल होइन । प्रतिपक्षी दलको भूमिका र पत्रकारको भूमिका फरक हुन्छ’ अर्थमन्त्री खतिवडाले भने, ‘म ढिलोढिलो राजनीति बुझ्दैछु । योभन्छु कि पत्रकारहरुले राम्रो र नराम्रो दुबै भन्नु पर्छ ।’
नराम्रो मात्रै देख्ने र व्यक्ति विशेषलाई ध्यान दिएर मिडिया चलाउनुको कुनै अर्थ नहरेको उनले बताए । प्रेस स्वतन्त्रता र आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अर्थमन्त्रालय र आफू सँधै तयार रहेको समेत बताए ।
सरकारले गरेको गल्ती देखाउने पत्रकार नै भएको तर, पत्रकारले गरेको गल्ती कसैले नदेखाउने भन्दै उनले पत्रकारले गल्ती नै गर्न नहुने धारणा राखे । उनले भने, ‘गल्ती सबैबाट हुन्छ तर, हाम्रो गल्ती तपाईहरु लेख्नुहुन्छ, तपाईहरुको कसले लेख्ने ? यसकारण तपाईहरुले गल्ती नै गर्नु हुँदैन ।’
उनले सबै पत्रकारहको हकहितको सुरक्षणका लागि सधै अग्रसर हुन संघलाई आग्रह समेत गरे ।
विज्ञापन दातालाई गाली गर्न नसक्ने र निरीहलाई मात्रै गाली गर्ने चलन रहेको भन्दै त्यस्तो बेतिथि तोड्न समेत उनले अनुरोध गरे । राष्ट्रको चौंथो अङ्गका रूपमा रहेका पत्रकारहरुको हकहितका लागि सरकार सदैब तयार रहेकाले आफ्नो संगठन मार्फत हकहितका जोडदार माग उठाउन समेत उनले आव्हान गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend