सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीको प्रख्यात सुपादेउराली मन्दिर

अर्घाखाँचीको प्रख्यात सुपादेउराली मन्दिर

मोतिराज खनाल । अर्घाखाँचीको शितगंगा २ सुपामा रहेको सुपा देउराली देवीको नाम पहिले काली देवी भनेर पनि चिनिन्थ्यो पछी मानिसहरुले यस ठाउँ शितगंगा को सितापुर सुपामा रहेको हुनाले सुपा देउराली देवीको नामले चिन्न थाले अर्घाखाँची पर्यटकीय र धार्मिक हिसाबले धेरै महत्व बोकेको ठाउँ हो । हामीले यसको प्रचारप्रसार विश्वले चिन्ने गरी गर्नुपर्छ । अर्घाखाँची विविध खालका जंगल, कलाकृतिले भरिपूर्ण, ताल तलैया र मठमन्दिरले सजिएको सुन्दर एवं प्रकृतिक वस्तुले भरिपूर्ण ठाउँ हो । यहाँका सुन्दरता तालतलैया, मठमन्दिर, पहाडका टाकुरा, यहाँको प्रकृतिमा रमाएका हरिण, मृग, खरायोजस्ता जंगली जनावरका लुकामारी देखेर जो कोही आनन्दित, प्रफुल्लित र मोहित हुन सक्छ ।

गोरुसिंगे–सन्धिखर्क सडक हुँदै यात्रा गर्दा चिसो अनुभव हुने समयमा सितगंगा–२ सुपाको सडकको छेउमा सुन्दर सुपा देउरालीको मन्दिर देख्न पाइन्छ । यस देउरालीको महिमा यहाँका बासिन्दा सबैको मनमा गुम्फिएर बसेको छ । परम्परादेखि नै यस देवालयको संरक्षण हाल सन्धिखर्क नगरपालिका अन्तर्गतको खाँचीकोट र सितगंगा नगरपालिका अन्तर्गतको सितापुरका बासिन्दाले गर्दै आएका छन् । यो धार्मिकस्थल महेन्द्र राजमार्गको गोरुसिंगेबाट ४७ किलोमिटर दूरीमा अग्लो पहाडको भिरमा अवस्थित छ । त्यही मन्दिरको माथिपट्टि भिर काटेर गोरुसिंगे–सन्धिखर्क सडक बनाइएको छ ।

इतिहासमा उल्लेख भए अनुसार बिक्रम संवत १९१६ मा बाइसे चौबिसे राजाहरुको पालामा खाँचीकोटे राजकुमार र बलरामपुरकी राजकुमारीको विवाह भएको थियो । विवाह गरी फर्कंदा सीतापुरको मसानदेवी भन्ने ठाउँमा विवाह भोज खान दुवैतर्फका मान्छेहरु जम्मा भएका थिए । कुराकानीको प्रसंगमा खाँचीकोटका राजाले बलरामपुरकी राजकुमारीलाई झुक्याएर विवाह गरेकाले जात नमिलेको विषयमा विवाद भयो । राजकुमारले वधुलाई डोलीमा बोकाएर दरबारतर्फ लैजाने क्रममा हालको सुपा देउराली मन्दिरभन्दा ५० मिटर तल पुग्दा डोलीबाट रगतको थोपा खस्यो । अनर्थ भएको ठानी सबै जना आत्तिए । हाल देउराली माताको मन्दिर भएको ठाउँमा डोली बिसाएर राजकुमारीका प्राणपखेरु उडिसकेका थिए । राजकुमारीको निधनपछि खाँचीकोट राज्यमा रोगव्याधी व्यापक भयो । विध्नबाधा आई पर्न थाले । अदृश्य शक्तिले झन्झन् सताउन थालेपछि राजाले समस्या समाधान गर्न राज्यभित्रका वैद्य र धामीझाँक्रीहरु बोलाए । उनीहरुको प्रयासले व्याधी साम्य नभएपछि राजाले आफ्ना राजगुरुहरुसँग परामर्श लिए तैपनि केही सीप लागेन । महामारी फैलँदै गयो । आसपासका इलाकाहरुमा खाँचीमा व्याधीले सताएको कुरा फैलिँदै गयो । लामा र झाँक्री बोलाउने क्रम जारी रह्यो तर व्याधी नियन्त्रण हुन सकेन ।

राजाले छिमेकी गाउँ दमारमा बस्ने खनाल थरका विद्वान् पण्डितहरुले यो समस्या समाधान गर्न सक्ने कुरा राजाले सुने । राजाले खनाल पण्डितहरुलाई दरबारमा झिकाए । राजाले पण्डितहरुलाई व्याधी काबुमा नआएको सुनाए । पण्डितहरुले राजालाई रगत चुहिएपछि डोली बिसाएको स्थानमा जगतजननी देवी भगवतीको सिद्ध स्थान भएको बताए । विवाह गर्न जाँदा राजाले देवीको सम्मान नगरिएकाले देवी क्रुद्ध भएको राजालाई बुझाइयो । राजाले सोधे, ‘हे गुरुवर १ अब मैले के गर्दा मेरो राज्यबाट व्याधी हट्छ रु शीघ्र बताउनुहोस् ।’ एक पण्डितले भने, ‘राजन १ अब हजुरले त्यस सिद्ध स्थानमा देवीको मन्दिर निर्माण गरी नित्य पूजा अर्चना गर्नुहोस् ।’

राजाले यथाशीघ्र उक्त स्थानमा देवीको मन्दिर निर्माण गरी विधिपूर्वक पूजा गर्न उनै खनाल पण्डितहरुलाई अनुरोध गरे । राजाको अनुरोधपछि खनाल पण्डितहरुले त्यहाँ पूजा अर्चना गर्न थाले । त्यो चलन हालसम्म यथावत् छ । विधिवत् पूजा चल्न थालेपछि रोगव्याधी हराउँदै गयो । त्यहि समयदेखि खाँचीका राजाहरुले सुपा देउराली मन्दिरमा दिवाली तथा कुलपूजा गर्न थाले ।

सुपा देउराली मन्दिरमा स्वच्छ मनले पूजा गरे अथवा भाकल गरे मनकामना सिद्ध हुन्छ भन्ने किंवदन्ती रहिआएको छ । अप्ठ्यारोमा परेको समय भाकल गर्दा मनकामना पूरा हुने विश्वास जनमानसमा अमिट छ । यो सडकमा गुड्ने सवारी साधनहरुले पनि मन्दिरमा भेटी चढाउने गर्छन् । यो मन्दिरमा भाकल पूरा गर्न टाढाटाढाबाट भक्तजन ओइरिने गर्छन् । दाङ, रोल्पा, कपिलवस्तु, गुल्मी, पर्वत, स्याङ्जा, बागलुङ, नवलपरासी लगायत ठाउँका भक्तजनको भाकल चढाउन प्रायः घुइँचो देखिन्छ । नेपालबाट मात्र नभई भारतका विभिन्न ठाउँबाट पनि भक्तजनहरु आएको पाइन्छ ।

अहिले सुपा देउराली मन्दिर प्रख्यात हुँदै गएको कुरा दमारका पुजारी चोपलाल खनाल, प्रजापति खनाल , घनश्याम खनाल, ठाकुर खनाल लगायत पुजारीहरु बताउँछन् । यो मन्दिरको प्रसिद्धि विश्वमै पुरयाउने संकल्प सीतापुरका समाजसेवी पुर्व वडा अध्यक्ष गोवर्धन थापाले लिएका छन् । यस मन्दिरको प्रसिद्धिले यस भेगको विकासमा योगदान गर्ने स्थानीय बुद्धिजीवीहरुको ठम्याइ छ । मन्दिरमा संकलित भेटी दुई वटा विद्यालयको आर्थिक स्रोत भएको छ । आर्थिक विपन्नता भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि मन्दिरको आम्दानीबाट गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend