बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मन्त्री परिवर्तनका लागि छलफल, प्रभावशाली नेताहरूलाई मन्त्री बनाउने तयारी

मन्त्री परिवर्तनका लागि छलफल, प्रभावशाली नेताहरूलाई मन्त्री बनाउने तयारी

काठमाडौं २७,कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री पद दिने तयारी थालिएको हो ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सरकारबाहिर रहेका र सरकारको आलोचना गरिरहेका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र जनार्दन शर्मालाई मन्त्रीमा सहभागी गराउने तयारी छ । त्यसैगरी सरकारसँग नरम रहेका र पार्टीमा प्रभाव राख्ने नेताहरू पम्फा भूषाल, देवेन्द्र पौडेल र छविलाल विश्वकर्मालाई पनि मन्त्री बनाउने तयारी रहेको छ ।

वर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विराध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेवारी दिने तयारी रहेको स्रोतले बताएको छ । तर उनी यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै तय भएको छैन।

‘रावलको हकमा पोर्टफोलियो नमिल्न सक्छ, त्यसकारण उहाँलाई पुनगठित मन्त्रिपरिषद्मा सहभागी गराउने कि नगराउने भन्ने विषय छलफलमै रहेको छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार अग्नि सापकोटा पनि पुनगठित मन्त्रिपरिषद्मा पर्नेछन् ।

त्यस्तै, मधेसी कोटामा प्रभु शाह वा रामेश्वर यादव पर्ने सम्भावना रहेको छ । साथै सभामुख नेकपा आफैले राख्ने भएपछि उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई राम्रै मन्त्रालय दिने तयारी छ भने रघुवीर महासेठलाई राजीनामा गराएर उनकी पत्नी जुली महतोलाई पनि मन्त्री बनाउने सम्भावना रहेको छ ।

सुरेन्द्र पाण्डेले पुनर्ग्ठित मन्त्रिपरिषद्मा अर्थ वा परराष्ट्र मन्त्रालय सम्हाल्नेछन्। हालको मन्त्रिपरिषद्मा रहेका उपेन्द्र यादवले राजीनामा दिए भने हालका गृहमन्त्री रामबहादुर थापा उपप्रधान तथा गृहमन्त्री बन्नेछन्। यदि यादवले राजीनामा नदिए उनी यथावत् रहने स्रोतको दाबी छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend