कार्तिक २४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन् ।
बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी माविको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गरे ।
सरकार सीमा विवादका विषयमा छलफलमा गम्भीरतापूर्वक जुटेको मन्त्री बाँस्कोटाले बताए ।‘सरकार प्रमाण खोजेर त्यस आधारमा यथोचित निष्कर्षमा पुग्नेछ,’ उनले भने, ‘सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कूटनीतिक रुपमा छलफल गर्ने पक्षमा छ ।’
सत्यको अघि झुट नसक्ने, न्यायको अघि बल नटिक्ने, तागत नटिक्ने, त्यसैले सत्य र न्यायको लडाइँले जित्ने उनले बताए ।वर्तमान सरकार हिजोको जस्तो सीमा मिची सक्यो भनेर मुन्टो लुकाउने पक्षमा नभएको उनको भनाइ थियो ।
करीब दुई प्रतिशत सीमा समाधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताए ।
मन्त्री बाँस्कोटाले समय समयमा सीमा विवाद आइरहेको स्मरण गर्दै सरकार एकतापूर्वक राष्ट्र र स्वाभिमान कायम राख्न दृढ रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend