१३ मंसिर, काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्टफेस्टको दोस्रो संस्करण गर्न लागेको हो ।
घर निर्माण फाउण्डेसनले निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा फेस्ट आयोजना गर्न लागिएको जानकारी दिएको हो । ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापित हुँदै आएको फेस्टबारे फाउण्डेसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो ।

फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भएपनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ। ती चुनौती समाधान गर्दै फेस्टले ती कमी कमजोरीलाई सम्बोधन गर्ने आयोजकको भनाइ छ ।
यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च हो । आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षणहरू समावेश गरेको छ ।

फेस्टलाई थप आकर्षक बनाउन आयोजकले विशेष तीन आकर्षण समावेश गरेको छ जस अन्तर्गत पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी छ ।
हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर थियो ।
दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ। घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ।

तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ। नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ।
फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गरिएको छ। इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend