सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनी प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै

लुम्बिनी प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै

 

८ मंसिर, बुटवल ।लुम्बिनी प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ। देशभर चर्किएको जेन(जी आन्दोलनका कारण अन्य प्रदेश सभामा भौतिक क्षति पुगे पनि लुम्बिनी प्रदेश सभा र सरकारका भवनहरू सुरक्षित रहेको सुखद सन्देशसहित नयाँ अधिवेशन सुरु हुन लागेको हो।

भदौको अन्तिम साता छैटौँ अधिवेशन सकिएपछि झन्डै सवा दुई महिनाको अन्तरालमा यो हिउँदे अधिवेशन आह्वान गरिएको छ। आन्दोलनको विषम परिस्थितिमा पनि लुम्बिनी प्रदेशका संरचनाहरूमा कुनै आँच नआएको पृष्ठभूमिमा यो अधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनले आजको बैठकको मुख्य कार्यसूचीबारे जानकारी दिँदै भने, ‘सभामुखज्यूले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त महत्त्वपूर्ण पत्रहरू सदनमा पढेर सुनाउनुहुनेछ।’

आजको बैठकमा सातौं अधिवेशन आह्वानसम्बन्धी औपचारिक सूचना, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी विवरण प्रस्तुत गरिनेछ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend