३ मंसिर, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति संरक्षण तथा राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय अभियन्ता दुर्गा प्रसाईलाई सरकारले मध्यरातमा गिरफ्तार गरेपछि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारमाथि तीव्र आक्रोश व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ। मोर्चाका अध्यक्ष डा. तारानाथ लुइटेलद्वारा जारी विज्ञप्तिमा दुर्गा प्रसाईमाथि सार्वजनिक अपराधको मुद्दा लगाएर पक्राउ गरिएको कार्य ‘राजनीतिक प्रतिशोध’ र ‘आगामी आन्दोलनलाई दमन गर्न खोजिएको प्रयास’ भएको आरोप लगाइएको छ।
मोर्चाले यस प्रकारको गिरफ्तारीलाई संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भनेको छ। “हरेक नागरिकलाई आफ्नो विचार राख्न पाउने अधिकार संविधानले दिएको छ। यिनै अधिकारको रक्षा गर्ने लक्ष्यका साथ २०८२ भदौ २३ को जेनेजी आन्दोलनको जगमा वर्तमान सरकारले जन्म लिएको थियो,” विज्ञप्तिमा उल्लेख छ।
मोर्चाले २४ भदौमा भएको ‘नरसंहार’ को चर्चा गर्दै त्यही घटनाबाट देश क्षतविक्षत एवं अस्थिरताबाट गुज्रिरहेको उल्लेख गरेको छ। मोर्चाको भनाइमा, सरकारका कैयौँ निर्णय र दमनकारी कार्यशैलीले सत्ता टिकाउन मात्रै लागि परेको छ भने जनताका न्यायिक तथा राजनीतिक अधिकारलाई बन्धक बनाइएको छ।
यसैबीच, सरकारले निकट भविष्यमा निर्वाचन हुने घोषणा गरिरहँदा, निर्वाचन आयोगमा स्वयं दुर्गा प्रसाईको संरक्षकत्वमा एक नयाँ राजनीतिक दल दर्ता भइसकेको अवस्थामा सरकारले प्रसाईलाई गिरफ्तार गर्नु नियतपूर्वक निर्वाचन प्रक्रियालाई ‘भाँड्ने प्रयास’ भएको मोर्चाको आरोप छ। मोर्चाले प्रश्न उठाएको छ— “जब निर्वाचनको माहोल बन्दैछ, त्यही बेला प्रतिस्पर्धामा उत्रिन लागेका अभियन्तालाई पक्राउ गर्नु के लोकतान्त्रिक प्रक्रियासँग मेल खान्छ?”
मोर्चाले मंसिर ७ गतेका लागि देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरिसकेको छ, जसमा राजसंस्था तथा हिन्दू राष्ट्र पुनर्स्थापनाका मुद्दाहरू प्रमुख एजेन्डा रहने बताइएको छ। मोर्चाका अनुसार त्यही आन्दोलनको प्रभाव र विस्तारसँग सरकार ‘तर्सिएको’ भएकाले दुर्गा प्रसाईलाई लक्षित गरेर कार्रवाई गरिएको हो।
“जनताको अभिमतलाई दबाएर, आन्दोलनको तयारीलाई निरुत्साहित पारेर, सरकार निरंकुशताको दिशातिर लम्किरहेको संकेत देखा परेको छ,” अध्यक्ष डा. लुइटेलले विज्ञप्तिमा भनेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend