३० कार्तिक, काठमाडौं । दक्षिण कोरियामा रोजगारीको तयारी गरिरहेका नेपाली युवाका लागि महत्त्वपूर्ण मानिने कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुँदै छ। यो चरण उत्पादनमूलक क्षेत्रका लागि केन्द्रित रहेको छ । उत्पादनमूलक क्षेत्रमा मात्रै ६७ हजार २९७ जना परीक्षार्थी सहभागी हुने रोजगार सेवा शाखाले जनाएको छ। परीक्षा माघ २७ गतेसम्म चल्नेछ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा काम गर्ने आशामा यस वर्ष एक लाख २ हजार ५६४ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए। साउन २६ देखि ३१ गतेसम्म खुला गरिएको आवेदन अवधिभित्र यो संख्यामा आवेदन पुगेको हो।
शाखाका अनुसार यसपटक करिब ५ हजार ३ सय जति परीक्षार्थी उत्तीर्ण हुने अनुमान गरिएको छ। जसमा उत्पादनमूलक क्षेत्रबाट ३ हजार ५०० जनाले र कृषि तथा पशुपालन क्षेत्रबाट झण्डै १ हजार ८०० जनाले उत्तीर्ण हुने अपेक्षा गरिएको छ।
परीक्षा व्यवस्थापनलाई सहज बनाउन दैनिक पाँचवटासम्म सिफ्ट सञ्चालन गरिने तयारी छ। दक्षिण कोरियाले ईपीएसमार्फत नेपाली कामदार लैजान नेपालसँग सन् २००७ मा सम्झौता गरेको थियो। सोही सम्झौता पछि सन् २००८ बाट नेपाली कामदार पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend