सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पोखरामा स्टिल उद्योगसम्बन्धी अन्तरक्रिया सम्पन्न 

पोखरामा स्टिल उद्योगसम्बन्धी अन्तरक्रिया सम्पन्न 

  • शुक्रबार, २१ कार्तिक २०८२

 

२१ कार्तिक,पोखरा । देशको आर्थिक अवस्था, उद्योग व्यवसायका चुनौती र सम्भावनाबारे पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन र ग्रिल तथा स्टिल व्यवसायी महासङ्घबीच आज पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। देशभरका स्टिल तथा ग्रिल व्यवसायीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा वर्तमान आर्थिक मन्दीले उद्योग र उत्पादनमाथि पारेको असर, बैंकिङ प्रणालीको कडाइ, कर संरचनाको जटिलता र सरकारी नीति सुधारका आवश्यकता जस्ता विषयहरूमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले पछिल्लो समय निर्माण क्षेत्र कमजोर बन्दै गएको र त्यसको सीधा प्रभाव स्टिल तथा ग्रिल व्यवसायमा परिरहेको बताउँदै सरकारले राहतमुखी नीति ल्याउनुपर्ने माग गरेका थिए। उनीहरूले स्थानीय उद्योगलाई प्रोत्साहन गर्न आयातित वस्तुमा नियन्त्रण, कर छुट, र लगानी सुरक्षाको वातावरण सुनिश्चित गर्न आग्रह गरे।

ग्रिल तथा स्टिल व्यवसायी महासङ्घका अध्यक्ष ठूलोवावु श्रेष्ठले कार्यक्रममा देशको आर्थिक सन्तुलन र रोजगारी सिर्जनामा स्टिल उद्योगको भूमिकालाई महत्वपूर्ण बताउँदै, “हामीले स्वदेशमै उत्पादन र निर्माण सशक्त बनायौं भने मात्रै देशको आर्थिक मुहार बदल्न सकिन्छ,” भनेर जोड दिए। उनले संघीय र प्रादेशिक सरकारलाई सहजीकरण र उद्योगमैत्री नीति बनाउन सुझाव पनि दिए।

अन्तरक्रियामा पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनका पदाधिकारी, विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू र स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पोखरालाई उद्योगमैत्री प्रदेश राजधानीका रूपमा विकसित गर्न दीर्घकालीन योजना आवश्यक भएको धारणा राखे।

त्यस्तै, एसोसिएसनको २५औं साधारण सभा तथा १६औं अधिवेशन भोली (शनिबार) गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ। अधिवेशनमा नयाँ नेतृत्व चयनका साथै आगामी कार्यकालका लागि कार्यक्रम र नीतिगत दिशा तय गरिने जनाएको छ। अधिवेशनमा देशभरका फेब्रिकेटर्स, ग्रिल निर्माता र उद्योगीहरू सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम आयोजक समितिका अनुसार अधिवेशनले संगठन सुदृढीकरण, व्यवसायिक एकता र औद्योगिक क्षेत्रको विकासका लागि ठोस प्रस्ताव पारित गर्नेछ। साथै, उद्योग क्षेत्रका समस्याहरूका समाधानका लागि सरकारसँग सहकार्य गर्ने रणनीति तय गरिनेछ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend