१८ कार्तिक, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड बैंक्वेटमा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीले निर्माण सम्पन्न गरेको ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजना र अन्तिम तयारीमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा–ताङ्गमाया खोला जलविद्युत आयोजना बारे जानकारी गराए ।
श्रेष्ठका अनुसार कम्पनीको १:१ हकप्रद शेयर जारी प्रक्रियाबाट जम्मा रु.४९ करोड ७६ लाख ३१ हजार ७०४ संकलन भएको छ । सो मध्ये रु.९ करोड ७६ लाख ३१ हजार ७०४ बराबरको शेयर प्रिमियम कोष खडा गरी तीन बैंकलाई समानुपातिक रूपमा ऋण भुक्तानी गरिएको बताइयो । चालु आ.व. २०८२/०८३ को अन्त्यसम्म कम्पनीको खुद दायित्व रु.४० करोड ६५ लाख ६ हजार रहेको अध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार कम्पनीको आय गत आर्थिक वर्षको तुलनामा रु.२ करोड ६० लाखले वृद्धि भएको छ । बैठकले के. दाहाल एण्ड एसोसिएट्सलाई पुनः लेखापरीक्षकमा नियुक्त गरेको छ । अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको सहभागिताले ऊर्जा क्षेत्रमा नयाँ सकारात्मक अवस्था सिर्जना भइरहेको बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend