सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उद्योगको लाइन काट्ने कुलमानको निर्णय गलतः प्रा डा गोपीलाल न्यौपाने

उद्योगको लाइन काट्ने कुलमानको निर्णय गलतः प्रा डा गोपीलाल न्यौपाने

 

१६ कात्तिक, काठमाडौं । नेपाल लिबरल पार्टीका सभापति प्रा. डा. गोपीलाल न्यौपानेले ऊर्जा मन्त्री कुलमान घिसिङको उद्योगहरूमाथिको विजुली कटौती निर्णयलाई “उद्योगविरोधी” र “प्रथम दृष्टिमै गलत” बताएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमानले लामो समयदेखि उद्योगहरूविरुद्ध प्रतिशोधपूर्ण नीति अपनाउँदै आएको आरोप लगाए।

न्यौपानेका अनुसार, विजुली महसुल नतिरेको कारण उद्योगको लाइन काट्ने निर्णयले हजारौं श्रमिकको रोजगारीमा संकट ल्याएको छ। उनले भने, “कुलमानजीको निर्णय केवल उद्योगमाथि कारबाही होइन, २० हजारभन्दा बढी नेपाली परिवारको भातको थाल उल्ट्याउने काम हो।”

उनले नेपाल विद्युत प्राधिकरणलाई राज्यको सम्पत्ति भन्दै यस संस्थाले दण्डात्मक शैलीमा काम गर्न नपाउने स्पष्ट पारे। “नेपाल विद्युत प्राधिकरण निजी कम्पनी होइन, यो जनताको सम्पत्ति हो,” उनले भने, “सक्नेले महसुल तिर्छ, नसक्नेले राहत पाउँछ। घाँटी अँठ्याएर विजुली काट्ने अधिकार कसैलाई छैन।”

न्यौपानेले उद्योगहरूले ८ रुपैयाँ प्रतियुनिटको दरमा विजुली उपभोग गरे पनि प्राधिकरणले १८ रुपैयाँ दरमा बिल पठाएको दाबी गरे। उनले आरोप लगाए, “राज्यले उद्योगलाई झुक्याएर, झूटो हिसाब गरेर बिल बढाएको छ। यो निष्पक्ष नीति होइन, यो योजनाबद्ध प्रतिशोध हो।”

उनका अनुसार, कुलमान घिसिङको ‘कम्युनिष्ट मानसिकता’ र ‘उद्योगविरोधी सोच’ले देशको उत्पादनशील क्षेत्रलाई ठप्प बनाउँदै लगेको छ। उनले व्यङ्ग्य गर्दै भने, “कुलमानजी जालसाँझी र हिपोक्रेसीमा माहिर छन्। उहाँको निर्णयले रोजगारी दिने उद्योगहरू बन्द भएपछि ती श्रमिकको भोक मेटाउने जिम्मा पनि उहाँले लिनुहोस्।”

लिबरल पार्टीका सभापति न्यौपानेले कुलमानले भारत र बंगलादेशमा ७ रुपैयाँ प्रतियुनिट दरमा बिजुली बेचेर, आफ्नै नागरिकलाई १२ रुपैयाँमा बेच्ने नीति अव्यावहारिक भएको बताए। “विदेशीलाई सस्तोमा बेच्ने र आफ्ना उद्योगलाई महँगोमा थिच्ने काम राष्ट्रघाती हो,” उनले भने, “यस्तो नीति राष्ट्रको आत्मनिर्भर उद्योग प्रणालीमाथि चोट हो।”

उनले नेपालमा उद्योग बन्द हुँदा दैनिक दुई अर्ब रुपैयाँ बराबरका वस्तुहरू भारतबाट आयात हुने गरेको उल्लेख गर्दै कुलमानमाथि “भारतको आर्थिक दलाली” गरेको गम्भीर आरोप समेत लगाए। “हामी आत्मनिर्भर हुन खोज्दैछौं, तर कुलमानजस्ता व्यक्तिहरूले हाम्रो उत्पादनशील क्षमता नष्ट गर्दै छन्,” उनले भने।

पत्रकार सम्मेलनमा न्यौपानेले कुलमानलाई ‘उदण्ड’ व्यवहार नगर्न चेतावनी दिँदै तत्काल बन्द उद्योगहरूको लाइन जडान गर्न आग्रह गरे। उनले थपे, “राज्यको शक्ति सेवा दिनका लागि हो, दमनका लागि होइन। उद्योग धन्दा चल्नु देशको मेरुदण्ड हो, त्यही मेरुदण्ड कुलमानले भाँच्ने प्रयास गर्दैछन्।”

न्यौपानेको भनाइमा, “हामी लिबरलहरूलाई विश्वास छ—कलकारखाना कुनै पनि मूल्यमा बन्द हुन हुँदैन। उत्पादनमूलक अर्थतन्त्र चलाउन सरकारको नीति र सोच दुवै उद्यमीमैत्री हुनुपर्छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend