१५ कार्तिक,काठमाडौँ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको पुनःस्थापनाको माग गरेका छन्।
उनले एक सार्वजनिक वक्तव्य जारी गर्दै भनेका छन्, “नेपाली जनताका गास, बास, कपास र सुरक्षाका लागि पनि राजा अनिवार्य पुनःस्थापना हुनु अत्यावश्यक छ।” वर्तमान शासन व्यवस्थाले जनताको आधारभूत आवश्यकता र राष्ट्रिय स्वाभिमान सुरक्षित गर्न असफल भएको दाबी गर्दै उनले सबै नागरिक, साथी र भाइबहिनीहरूलाई राजसंस्थाको पुनःस्थापनाका पक्षमा एकजुट हुन आह्वान गरे।
डा. लुईटेलका अनुसार देश निरन्तर अस्थिरता, भ्रष्टाचार र विभाजनको बाटोमा लथालिंग भइरहेको छ, जसले राष्ट्रिय एकता कमजोर बनाएको छ। “अब राष्ट्रको अस्तित्व जोगाउन, संविधानको सम्मान कायम राख्न र जनताको भविष्य सुरक्षित गर्न राजा अपरिहार्य छन्,” उनले बताएका छन्।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले हालै देशभर जनस्तरमा संवाद, भेटघाट र जनजागरण अभियान सञ्चालन गर्दै राजसंस्था पुनःस्थापनाको पक्षमा जनमत तयार पार्ने कार्य तीव्र पारेको जनाएको छ।
डा. लुईटेलले भनेका छन्, “नेपालको मौलिकता, पहिचान र स्थायित्वका लागि राजसंस्था मात्रै विकल्प होइन, आवश्यकता हो। त्यसैले अब सबै देशभक्तहरू एक भएर राजा फर्काउनुपर्ने बेला आएको छ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend