तनहुँ १६ कात्तिक । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम नसकेको आरोप लगाएका छन् । प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार दमौलीमा लोकार्पण गर्दै सभापति देउवाले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए ।
सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने सभापति देउवाले बताए । उनले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे । दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य काङ्ग्रेसलाई मान्य नहुने बताए ।
“अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइन,” उनले भने । प्रजातन्त्रका लागि काङ्ग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा काङ्ग्रेस जान नसक्ने सभापति देउवाको भनाइ थियो ।
काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो की भन्ने चिन्ता रहेको बताए । प्रजातन्त्रको रक्षाका लागि काङ्ग्रेस पछाडि नहट्ने प्रष्ट पार्दै उनले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताए ।
अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई तिहाई मतको दुरुपयोग गर्न नहुनेमा जोड दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend