८ मंसिर , काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जोलीले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न सबै तहमा सहकार्य आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय एकता अभियानले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको ‘ हिन्दू संस्कृति र नेपाल-भारत सम्बन्ध’ विषयक कार्यक्रममा हाल नेपाल भ्रमणमा रहेका भाजपाका नेता जोलीले नेपाललाई हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको चर्चा गरेका हुन् । जोलीले भाजपाले नेपालसँगको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै हिन्दू सभ्यताको संरक्षणका लागि निरन्तर सहकार्य गर्ने आश्वासन दिए।उनले कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन साझा प्रयासको महत्त्वलाई पुनः पुष्टि गरेको बताए ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए। कार्यक्रममा तत्कालीन संविधान सभाका सदस्य भूपेंद्र चौधरी राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका थिए। चौधरीलाई विजय जोली र अभियानका अध्यक्ष विनय यादवले खादा ओढाएर अभियानमा स्वागत गरे। चौधरीले अभियानमा आवद्ध भएपछि हिन्दू सभ्यताको सशक्तीकरण र राष्ट्रिय एकताका लागि अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, पूर्व राजपा उपाध्यक्ष सत्यनारायण मण्डल, राष्ट्रिय मुक्ति पार्टीका नेता सिऐन थारू, र समाजसेवी विजय राउत लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए। यस्तै, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, युवा विभाग प्रमुख दिवस पटेल, महिला विभाग प्रमुख रीता साह, बागमती प्रदेश इञ्चार्ज शिसिर रञ्जितकार, उपत्यका इञ्चार्ज महेश्वरमान वैद्य, र काठमाडौँ जिल्ला संयोजक राजकुमार लामीछाने लगायतको उपस्थिति रहेको थियो।
अभियानका अध्यक्ष विनय यादवले नेपाललाई संघीय हिन्दू गणराज्यको रूपमा घोषणा गर्ने उद्देश्यसहित अभियानले निरन्तर गतिविधि गर्दै आएको बताए। उनले भारतसँगको सांस्कृतिक सहकार्यले अभियानलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend