बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारित

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभाले  सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनका लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

उक्त वित्तीय संस्थाको सञ्चालक समितिकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा शुक्रबार (३० कार्तिक ) काठमाडौंमा बसेको सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा वित्तीय प्रतिवेदनमाथि छलफल र सुझावसहित पारित गरेको छ।

संस्थाले  आर्थिक वर्ष ०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार ८५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। साधारणसभाले आ.व. ०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ।

चालू आ.व.को असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा–उपशाखा कार्यालय तथा नाैवटा इलाका कार्यालयमार्फत दुई लाख ६१ हजार ७४५ महिला ग्राहक सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको लघुवित्तले जनाएको छ। सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा रकम २१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने सदस्यको बचत १४ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ।

संस्थाको जारी तथा चुक्ता पुँजी एक अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ। साधारणसभाले संस्थाको सञ्चालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकमा रविनकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ।

साथै, आ.व. ०८१/८२ को लेखापरीक्षण गर्नका लागि सुन्दर एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर–प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend