काठमाडौं ।चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा शुक्रबार ( ३० कार्तिक )सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । सभामा संस्थाका निवर्तमान अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, सहकारी विज्ञ कुवेर निरौला, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का सञ्चालक हेम बहादुर कार्की, जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष दिपक बिक्रम थापा, राष्ट्रिय सहकारी बैंक न्यूरोड शाखा प्रमुख रमा घिमिरे, राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख केदार नाथ उप्रेती लगायतको उपस्थिति थियो ।
साधारण सभाले अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको वार्षिक प्रगती प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण बहादुर गुभालुले प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित आय व्यय विवरण लगायत १५ वटा एजेण्डा पारित गरेको छ ।
साधारणसभामा अध्यक्ष श्रेष्ठले सदस्यहरुको श्रम, पुँजी र सीपलाई अधिकतम परिचालन गरी आफ्ना सदस्यहरुको आवश्यकता र आकांक्षालाई परिपूर्ति गर्नु नै यस संस्थाको मुख्य लक्ष्य रहेको बताए । संस्थाको कार्य क्षेत्र भित्र रहेका र खासगरी चीनसँगको व्यापार व्यवसायमा सम्लग्न व्यवसायी र अन्य क्षेत्रसँग सम्वद्ध व्यक्तित्वहरुलाई समेत संस्थामा आवद्ध गराई सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा सहयोग पुर्याउनु संस्थाको उद्देश्य रहेको उनले बताए ।
त्यस्तै ,विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेपकर्तालाई प्रदान गर्ने गरेको उच्च ब्याजदर, व्यवसाय र उद्यमशिलताको लागि व्यवसायिक क्षेत्रमा देखिएको कमजोर उत्साह र मनोबल, सहकारी संस्थाहरुले विविध कारणले संस्थाको व्यवसाय वृद्धिको लागि यस वर्ष अप्ठ्यारो परेको उनले जानकारी दिए।
समीक्षा आर्थिक वर्ष २०८०/८१ सम्ममा यस संस्थाको सेयर पुँजी ७ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ३ करोड ९३ लाख रुपैयाँ, बचत तथा निक्षेप ५२ करोड १६ लाख र कुल वासलात ८८ करोड २३ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend