खबरब्रेकिंग,काठमाडौं मंसिर ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेका एक सन्तानलाई निःशुल्क पढाइदिने भएका छन् ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेका छोरा सफललाई मन्त्री बस्नेतले निजी खर्चमा निःशुल्क शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन् ।
वि.स. २०७७ जेठमा चालिसेको मृत्यु हुँदा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले आज काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन् ।
उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु.६० हजार नगद पनि विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए ।
“कोरोनाका कारण सावित्रिको दुःखद निधन भएपछि मैले घोषणा गरेको थिँए , उनको ९ दिनको बच्चा सफलको पढाईमा लाग्ने सम्पूर्ण खर्च म आफै व्यहोर्छु। अहिले उनको भर्ना गर्न पाउँदा म ज्यादै खुशी छु, कक्षा १२ सम्म पढाएर जागिरको व्यवस्थासमेत मैले गर्नेछु,” मन्त्री बस्नेतले भने।
सो अवसरमा मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा सबैलाई निःशुल्क हुनुपर्ने बताए । उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत उहाँले स्मरण गर्नुभयो ।
विद्यालयका प्राचार्य अधिकारीले कोरोनाबाट ज्यान गुमाएका परिवारको शिक्षा क्षेत्रमा सहयोग गरेको भन्दै मन्त्री बस्नेतलाई धन्यवाद दिए । प्राचार्य अधिकारीले मृतक चालिसेको जेठो छोरासमेत पहिलेदेखि नै आफ्नो विद्यार्थी भएकाले कोरोनामा दुःखद निधन भएसँगै जेठो छोराको पठनपाठनमा विद्यालयले सहयोग गरेको उल्लेख गरे ।
वि.सं. २०५७ सालमा स्थापना भएको कान्तिपुर इङ्लिस एकेडेमीमा हाल ५५० विद्यार्थी अध्ययनरत छन् । मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतिको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गरेकामा आभार व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend