हरिभक्त सिग्देल,
मान्छेको एक हो मात्र जात मानव सत्य हो
सामन्ती अभ्झ स्वार्थी त्यो सोचमा उस भित्रको ।
फटाऊ गर यो राज्य सिद्धान्त साथमा लिई
लडाईं झगडा व्यर्थ स्वार्थी गराउने भई ॥
सृष्टि व्यापकमा हुन्छ असीमित अनन्त छ
पहाडी हिमका साथै तराई मरुभूमि छ ।
सत्तरी जलको भाग बांकी भूमि यहाँ वहाँ
धरातल यता भिन्न भित्रमा छौं जहाँतहाँ ॥
विवेक बुद्धि हो जस्तो त्यस्तै चिन्तन बग्दछ
काम क्रोध अझै लोभ अहङ्कार विशेष छ ।
स्वार्थ साथै छ आकाङ्क्षा ‘म’ भन्ने विष हुन्छ यो
मेरो जात उता धर्म कुल यो सवमा भयो ।।
यसैको म र मेरोमा स्वार्थ निस्केर झर्दछ
लादून गाल्न सबै खोज्छन् त्यसैमा युद्ध पर्दछ ।
युद्ध विनाशका लागि मान्छे यी अति गिर्दछन्
नभएका सबै जात धर्म ल्याई बटुल्दछन् ।।
अनेकौं धर्म छन् जात लिई युद्ध भए कति
गृहयुद्ध भए, देश विश्वयुद्ध भएपछि ।
अझै छन् युद्धका चाङ यता उता जताततै
भए हुन्छ भएका छन् व्यक्ति समूहमा कतै ॥
जन्मिए जात र धर्म वर्ण लिङ्ग र देशका
अहङ्कारी लिई भाव जिद्धि रूप र भेषका ।
नक्कली ती सीमारेखा खिची युद्ध र द्वन्दको
शान्ति र सुखको बाटो पन्छाई जनयुद्धको ।।
हिड्छ मान्छे भई अन्धो मर्न मार्न तयारमा
विनाअर्थ छ यो युद्ध हार्छ, मर्छ हतारमा ।
मानवता सधैं हार्छ युध्द दानव जित्दछ
बन्धु बान्धव मारेर के को को सुख खोज्दछ ।।
शान्ति-स्मारिका २०८० बाट यो कबिता साभार गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend