३ मंसिर , काठमाडौं । भारतीय सिनेमा जगतका अजर, अमर र सदावहार गीतहरुका सर्जक ‘समीर’ अर्थात समीर अन्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ। आफ्नो पहिलो नेपाल भ्रमणमा रहेका विख्यात सर्जक समीरलाई मंसिर २ गते शनिबार लूनकरणदास – गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालको तर्फबाट सम्मान र अभिनन्दन गरिएको हो।

अभिनन्दन कार्यक्रममा हिन्दी सिनेमा जगतमा आफ्ना जादुगरी सृजनामार्फत विश्वभरका अर्बौं मानिसका हृदयलाई झंकृत गर्न सफल गीतकार समीरबारे परिचयात्मक मन्तव्य राख्दै लूनकरणदास – गङ्गादेवी चौधरी साहित्यकला मन्दिरका संरक्षक कवि एवं गीतकार वसन्त चौधरीले समीरका हृदयस्पर्शी गीतहरुलाई शव्दले मात्रै बयान गर्नु अपर्याप्त हुने बताए । समीरका गीतहरू शव्दको मौनसङ्गको मिलनजस्तो सुन्दर र कलात्मक रहेका कवि चौधरीले उल्लेख गरे।

सन १९५८ को फेब्रुअरी २४ मा उत्तरप्रदेशको बनारसमा जन्मिएमा समीरको भारतीय फिल्मका गीतिक्षेत्रमा निकै गौरवपुर्ण उपस्थिति रहेको छ। उनका पिता लालजित पाण्डे “अन्जान” पनि प्रसिद्ध गीतकार थिए । समीरले ६५० भन्दा बढी फिल्मका ४००० भन्दा बढी गीतहरुमा कलम चलाएका छन् । ऊनी सबैभन्दा धेरै गीत लेख्ने गिनिज विश्व कीर्तिमानी गीतकार हुन।
आफ्नो लोभलाग्दो गीति करिअरमा समीरले भारतका सबै ठुला पुरस्कार र सम्मान पाएका छन् । १९९१ मा आशिकी फिल्मको ‘नजर के सामने’ गीतको लागी पहिलो फिल्मफेयर सर्वश्रेष्ठ गीतकार अवार्ड पाएका समीरले ‘दीवाना’ फिल्मको ‘तेरी उम्मीद तेरा इन्तजार’ गीतका लागि १९९३ मा र ‘हम हैं राही प्यार के’ फिल्मको ‘घुँघट कि आड से’ गीतको लागि १९९४ मा फिल्मफेयर अवार्ड पाएका थिए । उनले ‘यश भारती पुरस्कार’ पनि पाएका छन ।
पहिलोपटक नेपाल आउँदा यहाँको पहाडी र हिमाली सुन्दरताबाट आँफू मख्ख परेको समीरले बताए। नेपाली भाषाको मिठासबाट पनि प्रभावित बनेको उनले बताए । नेपालका बारेमा अब धेरै लेख्ने जनाउँदै उनले नेपाली धरा बाट प्रभावित भएर उत्सर्जित केही पङ्ति सुनाउन भ्याए-
जहाँ वर्फ गीरे शुवह-शाम जाडो में
मुझे ले चलो आज उन पहाँडो में …
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend