बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सानिमा माई हाइड्रोपावर को १२औं वार्षिक साधारणसभाबाट पूँजी वृद्धिको प्रस्ताव पारित

सानिमा माई हाइड्रोपावर को १२औं वार्षिक साधारणसभाबाट पूँजी वृद्धिको प्रस्ताव पारित

  • शुक्रबार, २४ कार्तिक २०८०

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ। अध्यक्ष टेकराज निरौलाको सभापतित्वमा कार्तिक २३ गते बिहीबार सम्पन्न सभाले कम्पनीको हालको जारी तथा चुक्ता पूँजी रु. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार बाट वृद्धि गरी रु. ३ अर्ब ३९ करोड ८१ लाख ७६ हजार १ सय कायम गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले कम्पनीका शेयरधनिहरुलाई आर्थिक वर्ष २०७९/०८० सम्मको वितरण योग्य संचित मुनाफाबाट चुक्ता पूँजिको १०% बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष निरौलाले प्रस्तुत गरेका कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको काम सभाले गरेको छ।

रिक्त संचालक पदमा बाँकी अवधिका लागि शेयरधनी राजन प्रसाद अमात्यको नियुक्ति सभाले अनुमोदन गरेको छ।

कम्पनीका सचिव जयन्त कुमार रेग्मीले संचालन गरेका साधारणसभामा शेयरधनीहरुले राखेका प्रश्न र जिज्ञासाहरुको अध्यक्ष निरौला र महाप्रबन्धक पुष्प ओझाले जवाफ दिएका थिए ।

यस कम्पनीको नियमित व्यवसायिक आम्दानीको प्रमूख स्रोतका रूपमा रहेका हाल सञ्चालित इलाम जिल्ला माई नगरपालिकास्थित २२ मे.वा. जडित क्षमताको माई जलविद्युत आयोजना र ७ मे.वा. क्षमताको माई क्यास्केड जलविद्युत उत्पादन केन्द्रहरू निरन्तर रूपमा पूर्ण दक्षताका साथ सञ्चालन गरी मुनाफा आर्जन गर्न र अन्य आयोजना प्रवर्द्धक कम्पनीहरूका शेयरमा लगानी गर्दै कम्पनीको व्यवसाय विस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०७९/०८० मा माई तथा माई क्यास्केड जलबिद्युत केन्द्रबाट उत्पादित कुल १३७.२८ गिगाबाट आवर विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी कम्पनीले कुल रू. ७६,३५,४१,७४१/- (अक्षरेपी छयहत्तर करोड पैतिस लाख एकचालिस हजार सात सय एकचालिस मात्र) आम्दानी गरी, रू. ४०,६८,३७,४१७/- (अक्षरेपी चालिस करोड अठसठ्ठी लाख सैतिस हजार चार सय सत्र मात्र) खुद मुनाफा आर्जन गर्न सफल भएको कुरा कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।

कम्पनीको हाल सञ्चालनमा रहेका आयोजनाहरू निर्धारित अवधिपछि कानुन बमोजिम स्वतः निःशुल्क सरकारमा हस्तान्तरण हुने भएकोले सो पश्चात् पनि शेयरधनीहरूको लगानीको प्रतिफलको निरन्तरताको सुनिश्चितताका लागि कम्पनीले अन्य जलविद्युत आयोजना प्रवर्द्धक कम्पनीहरूको शेयरमा लगानी गर्ने नीति लिए अनुरूप हालसम्म रू. १,२७,४१,४७,५००/- (अक्षरेपी एक अर्ब सत्ताइस करोड एकचालिस लाख सत्वालीस हजार पाँच सय मात्र) लगानी गरिसकेको जनाएको छ । यस अनुरूप ५६ मे.वा. जडित क्षमताको जुम खोला जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावर लि. बाट प्राप्त प्रस्तावका आधारमा उक्त कम्पनीको शेयरमा यस कम्पनीको आम्दानीबाट किस्तावन्दी रूपमा अधिकतम रू. १ अर्ब ५० करोडसम्म लगानी गर्ने निर्णय गरेको छ ।

यस कम्पनीले लगानी गरेको आयोजना प्रवर्द्धक कम्पनीहरू मध्ये श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको २८.१ मे.वा. जडित क्षमताको तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई मिति २०७९ कार्तिक १९ गतेबाट व्यवसायिक रूपमा सञ्चालनमा आइसकेको छ भने माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेडको १४.३ मे.वा. जडित क्षमताको माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजनाको ९८.५% र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ७३ मे.वा. जडित क्षमताको मध्य तमोर जलविद्युत आयोजनाको ९३% निर्माण कार्य सम्पन्न भइसकेको हुँदा निकट भविष्यमा नै यी आयोजनाहरू पनि सञ्चालनमा आई व्यवसायिक उत्पादन सुरू हुने अपेक्षा कम्पनीले गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend