काठमाडौं, कार्तिक २० गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरुलाई सहयोग गर्न महासंघ तयार रहेको बताएका छन । एसिया प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री क्यासि परिसघको आज काठमाडौंमा सुरु ३७ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया प्रशान्त क्षेत्रका लगानी कर्ताहरुलाई आग्रह गरे ।
नेपाली अर्थतन्त्रले ठूला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए ।
पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैङ्किग क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानीकर्ताहरुका लागि जोखिम कम हुँदै गएको अध्यक्ष ढकालको भनाई छ । नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको अध्यक्ष ढकालले उल्लेख गरे ।
यसैगरी विश्वस्तरीय होटेल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठुला होटेल लगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि आग्रह गरे ।
नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend