शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मुक्तिनाथ क्यापिटलको चौधौं वार्षिक साधारणसभा सम्पन्न

मुक्तिनाथ क्यापिटलको चौधौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष सीताराम काफ्लेको सभापतित्वमा यही  कार्तिक १७ गते शुक्रबार सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीका अनुसार साधारणसभाले संस्थापक संचालकमा आदर्श राज पाण्डे र स्वतन्त्र संचालकहरुमा सुमन कोइराला र दिपान्जली खकुरेलको चयनलाई अनुमोदन गरेको छ।

समिक्षा आर्थिक वर्ष अर्थात २०८० असार मसान्तमा कम्पनीको शेयर पूँजी रु.४० करोड ५० लाख पुगेको छ, जुन गतवर्षको तुलनामा १००% वृद्धि हो। कूल सम्पत्ति रु.५४ करोड ५२ लाख ५६ हजार रहेको कम्पनीको नेटवर्थ (बुक भ्यालु ) रु. १०२.८९ रहेको छ। कम्पनीले यस आर्थिक वर्षमा २ करोड ४२ लाख ८५ हजार ४७९ खुद नाफा आर्जन गरेको छ।

समिक्षा वर्षमा यस कम्पनीले विभिन्न कम्पनीको प्राथमिक शेयर निष्काशन (Initial Public Offering) गर्नका लागि ५ वटा कम्पनीहरु सँग सम्झौता गरेको थियो भने २ वटा कम्पनीहरुको थप सार्वजनिक निष्काशन (Further Public Offering) गर्नका लागि सम्झौता गरेको थियो । त्यसैगरी विभिन्न ६ वटा कम्पनीको हकप्रद शेयर निष्काशन (Rights Share Issue) गर्नका लागि सम्झौता गरेको थियो भने ५ वटा कम्पनीहरुको लागि करिब रु.१ अर्व २७ करोड रकम बराबरको शेयर प्रत्याभूति (Underwriting) सेवाको लागि समेत सम्झौता गरेको थियो । समिक्षा वर्षमा ३ वटा कम्पनीहरुलाई संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु प्रदान गर्नका लागि समेत सम्झौता गरेको थियो ।

समीक्षा वर्षमा यस कम्पनीले सामूहिक लगानी कोष संचालन गर्नको लागि नेपाल धितोपत्र वोर्डबाट योजना व्यवस्थापक (Fund Manager) तथा डिपोजिटरी (Depository) र संस्थागत परामर्शदाता (Corporate Advisory) को अनुमति पत्र प्राप्त गरेको छ भने सामुहिक लगानी कोषको बन्दमुखी योजना (Close Ended Scheme) संचालन गर्नको लागि आवश्यक तयारी गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा यस कम्पनीले राधि विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन तथा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र शुभम पावर लिमिटेडको प्राथमिक शेयर निष्काशन तथा बिक्री कार्य सफलतापूर्वक सम्पन्न गरेको थियो भने शेयर रजिष्ट्रारको रुपमा कार्य गरिरहेको कम्पनी संख्या १४ पुऱ्याउन सफल रहयो । समिक्षा वर्षमा लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहक संख्या १२९ तथा लगानी रकम करिब रु.५१ करोड पुऱ्याउन सफल रह्यो । साथै निक्षेप सदस्य सेवाका ग्राहकवर्गहरुको संख्या वृद्धि गर्नका लागि मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा निक्षेप सदस्य अन्तर्गत विभिन्न अनलाईन प्रविधि मार्फत सेवा उपलब्ध गराउने व्यवस्था मिलाई हितग्राही खाताहरु (डिम्याट खाता) को संख्या करिब १ लाख २९ हजार पुऱ्याउन सफल रहेको कम्पनीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend