१८ कात्तिक ।कार्तिक १७ गते शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।
भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । रुकुम पश्चिममा २७ र जाजरकोटमा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ६४ जनाको मृत्यु छ भने ९७ जना घाइते भएका छन् ।
उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।
भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।
रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ ।
भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend