काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु हुने भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने योगदानमा आधारित सामाजिक सुरक्षा योजना (स्किम) को आउँदो मङ्लबार प्रधानमन्त्री के पी शर्मा ओलीले सुरु गर्ने भएका हुन । यसका लागि रोजगारदाता र योगदानकर्ताको सूचिकरण सम्बन्धी सूचना २६ कार्तिक, २०७५ को राजपत्रमा प्रकाशन भई सकेको श्रमसचिव महेश दाहालले जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपालभर लागू हुनेछ ।
कसरी कार्यान्वयन हुन्छ समाजिक सुरक्षा योजना ?
यो योजना पहिलो चरणमा प्रतिष्ठान स्तरका श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकरण भई सामाजिक सुरक्षा कोषबाट (१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, (२) दुर्घटना तथा अशक्तता सुरक्षा, (३) आश्रित परिवार सुरक्षा र (४) वृद्धावस्था सुरक्षा स्किम अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् ।नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरिएकोले सो को कार्यान्वयनका लागि नेपाल सरकारले सामाजिक सुरक्षा योजना (स्किम) कार्यान्वयनमा ल्याउँदैछ ।
यसको सफल कार्यान्वयनका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्य्िवधि, २०७५ कार्यान्वयनमा आई सकेको छ भने संस्थातग पूर्वाधारको रुपमा सामाजिक सुरक्षा कोष २०६७ चैत्र ७ गते स्थापना भई सञ्चालनमा रहेको छ ।
कोषबाट सञ्चालन हुने स्किममा समावेश औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि औषधि उपचार तथा स्वास्थ्य सेवाको सुविधा प्राप्त गर्न छ महिना योगदान गर्नु पर्ने र मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नु पर्ने हुन्छ । श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट प्राप्त गर्ने व्यवस्था रहेको छ । रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्किममा समावेश भएको छ, तर व्यवसायजन्य रोगको उपचार गर्न दुई वर्षसम्म योगदान गरेको हुनु पर्दछ ।
रोजगारजन्य दुर्घटना बाहेक अन्य दुर्घटना भएको अवस्थामा सात लाख रुपैयाँसम्मको उपचार खर्च स्किमबाट प्राप्त हुनेछ । तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य वीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा कोषको स्किमबाट त्यसतो सुविधा प्राप्त हुने छैन ।
योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई प्राप्त हुने सुविधा अन्तर्गत निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिक रुपमा जिवित रहेसम्म निवृत्तिभरण (पेन्शन) र निजको १८ वर्ष उमेर पुरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति पाउने व्यवस्था छ । यसैगरी योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोराछोरी कोही पनि नभएको अवस्थामा निजको आश्रित बाबुआमालाई मासिक रुपमा ६० प्रतिशत रकम जिवित रहेसम्म प्रदान गर्ने व्यवस्था स्किममा समावेश गरिएको छ । योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ता जिवित रहेसम्म निवृत्तिभरणको व्यवस्था समेत गरिएको छ ।
यी सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनु पर्ने छ । सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्ने छ । यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुनु पर्ने छ ।
यसका लागि रोजगारदाता र श्रमिकको सूचिकरण सम्बन्धी कार्य्िवधि, २०७५ कार्यान्वयनमा आई मिति २०७५ कार्तिक २६ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सूचिकरणको लागि आह्वान गरिएको छ ।
काठमाण्डौं उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताहरुका लागि २०७५ मसिंर ६ गते बाट रोजगारदाताको सूचिकरण शुरु भैसकेको छ भने काठमाण्डौं उपत्यका बाहिर प्रदेश नं ३ का रोजगारदाताले २०७५ मंसिर १५ गते बाट, प्रदेश नं १ का रोजगारदाताले २०७५ पुस १ गते बाट, प्रदेश नं २ का रोजगारदाताले २०७५ पुस १५ गतेबाट, गण्डकी प्रदेश र प्रदेश नं ५ का रोजगारदाताले २०७५ माघ १ गतेबाट एवं कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका रोजगारदाताले २०७५ माघ १५ गतेबाट सूचिकरण हुने व्यवस्था मिलाइएको छ ।
रोजगारदाताले सूचिकरण भएको मितिले तीन महिनाभित्र योगदानकर्ता श्रमिकको सूचिकरण गरिसक्नु पर्नेछ । योगदानकर्ता सूचिकरण भए पश्चात् योगदान सकंलनको काम शुरु हुनेछ र स्किमहरु आकर्षित हुनेछन् । रोजगारदाता र श्रमिकको सूचिकरण अनलाईन प्रविधिबाट गर्ने व्यवस्था समेत मिलाईएको छ ।
कोषबाट सञ्चालन हुने योजना नेपालमा विद्यमान सामाजिक सुरक्षा योजनाभन्दा पृथक हुनुका साथै नेपालमा पहिलो पटक सञ्चालनमा आउँदै छ । यो योजना (स्किम) योगदानमा आधारित हुनुका साथै दीर्घकालिन महत्व राख्ने स्किम हो । यो योजना (स्किम) लागू भए पश्चात् कर्मचारी तथा श्रमिकहरुको सामाजिक सुरक्षा सुनिश्चत हुने र रोजगारदाताको दायित्व व्यवस्थापन पनि सहज हुने हुँदा नेपालमा असल श्रम सम्बन्ध कायम हुने हुँदा लगानीमैत्री वातावरण र रोजगारको अवसर सिर्जना भई नेपालको अर्थतन्त्र पनि गतिशिल हुने मन्त्रालयको अपेक्षा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend