काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच हिजो भएको भेटवार्ता पछि मुलुकको राजनीतिमा तरंग आएको छ । विप्लव शनिवार बिहान खुमलटारमा गएर अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्। पछिल्लो समयमा आएर दुई दलबीच एकीकरणको चर्चा चलिरहेको छ ।
उनीहरू बीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरी छलफल भएको स्रोतले बतायो। भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल समेत भएको बताइएको छ। ‘दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल भयो,’ स्रोतले भन्यो, ‘तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उहाँहरू बीच भएको छ।’
छलफलमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए। माओवादी केन्द्र र नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ। यसको पहल माओवादी केन्द्रका प्रवक्ता महराले गर्दै आएका छन्। तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए।
पछि उनी वैद्यबाट पनि अलग भए। उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए। केही समयको भूमिगत राजनीतिमा सक्रिय विप्लव नेतृत्वको नेकपा २०७७ फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएका थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend