काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताएका छन ।
जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ ।’
दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उनले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको छैन, विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताए । उनले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताए ।
उनले भने, ‘भूमि व्यवस्था वैज्ञानिक नभएसम्म किसान आर्थिकरुपले सबल हुन सक्दैन् । यसका लागि आफ्नो पार्टीले प्रयत्न जारी राखेको छ ।’ बेमौसमी वर्षाबाट क्षति भएका किसानको राहतका लागि सरकारले साढे पाँच अर्ब बजेट छुट्याएको बताउँदै अध्यक्ष यादबले बताए ।
अध्यक्ष यादवले देशमा सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको व्यवस्था स्थापनामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै स्थानीय सरकारदेखि संसद र राज्यको शासन र प्रशासनसम्म मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको सुनिश्चित सङ्घीय प्रणालीकै कारण भएको प्रष्ट पारे ।
लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको बताउँदै उनले मधेशमा ठूलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेको बताउँदै उनले उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend