फाइल फोटो
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरी राजनीतिमा तरंग ल्याएका छन । उनले माओवादी केन्द्रसँग मात्र एक नभई समग्र कम्युनिस्ट पार्टी एक हुने बताएका छन । कम्युनिस्ट पार्टी एकता सम्भव रहेको उनले बताए । विप्लवले धनगढीमा भएको नेपाल दलित मुक्तिमोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनका उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीबीच एकता गर्ने तयारी रहेको बताइरहेको बेला विप्लवले माओवादी केन्द्रसँग मात्र एक नभई समग्र कम्युनिस्ट पार्टी एक हुने बताए ।
आफूहरुले कुर्सीको लागि लड्नेभन्दा पनि जनताको लागि लड्नेसँग एकता गर्न चाहेको उनले दाबी गरे । उनले सहिदका नाममा व्यापार भइरहेको आरोप लगाए । सत्तामा गएपछि सहिदका सपना बिर्सिने गरेको उनले बताए ।
‘सत्ताबाहिर हुँदा सहिदका कुरा गर्ने, तर सत्तामा पुगेपछि सहिदलाई बिर्सिने गरेको छन्,’ उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी सहिदका सपना पूरा गर्नतर्फ उन्मुख छ ।’
यस्तै, नेता विप्लवले जातीयवादविरुद्ध नेपाल कम्युनिस्ट पार्टी डटेर लाग्ने बताए । जातीय भेदभाव गर्नेहरु अरुको पसिना लुटेर खान खोज्नेहरु रहेको बताउँदै चन्दले तरबार र बन्दुकको बलमा विभेद गर्न खोजिन्छ भने तरबारको समाना तरबारबाटै गर्ने चेतावनी दिए ।
उनले कसैको पनि रगत, श्रममा कुनै भेदभाव नभएको बताउँदै दलित शब्दलाई खारेज गर्नुपर्ने बताए । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा सुरु भएको हो । २९ कात्तिकसम्म हुने सम्मेलन उद्घाटनअघि धनगढीमा प्रदर्शनसमेत गरिएको थियो ।
सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरी साढे तीन सयजनाको सहभागिता रहको मोर्चाले जनाएको छ । सम्मेलनमा मुक्ति मोर्चाको आन्दोलनको समीक्षा, नयाँ विचार, रणनीति, कार्यदिशा, संगठनको नयाँ नाम र संरचना, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend