काठमाडौं । नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा। विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन् ।
एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् ।
शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा। गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ । यस्तै एकीकृत समाजवादीले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरेको बिहीबार उपमहासचिव गंगालाल तुलाधरले विज्ञप्ति निकालेर जानकारी दिएका छन्ए ।
एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ । बैठकले न्यायपालिकामा देखापरेको समस्यालाई गम्भीर रुपमा लिई उपयुक्त किास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिको मर्मत कार्य छिटो भन्दा छिटो सम्पन्न गरी काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीले सरकारको कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति निर्देशन अनुसार प्रभावकारी रुपमा काम गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै मन्त्री र मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति, सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय अनुसार गर्ने र प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णय अनुसार का गर्ने निर्णय पनि गरेको उपमहासचिव तुलाधरले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend