काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन । बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताए ।
उनले विश्वका २ सयभन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौँ, पैसाले हुने भए सगरमाथा युरोपतिरै जन्माउँथे यहाँ चढ्न किन आउँथे, ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन्, पशुपतिनाथ र गौतम बुद्ध, विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी ४० लाख नेपालीहरु रोजगारी खोज्न विदेशमा छौँ, हामीले हाम्रै देशमा आर्जनको स्थल बनाउन सक्छौ, आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ, देशका युवाहरुले बुझ्न जरुरी छ ।’
मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताए । जति प्रगति भएपनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टीहरू ठूलो भएको तर्क गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend