काठमाडौं । प्रदेश – १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन । उनले आज बस्ने प्रदेश – १ सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरिरहेका हुन ।
मध्यान्ह १२ बजेबाट बस्ने बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र आजै मतदान हुने कार्यसूची रहेको छ । यसअघि पनि मुख्यमन्त्री आचार्यले विश्वसको मत लिने तयारी गरेको भएपनि विपक्षी दलहरुको असमझदारीका कारण बैठक हुनसकेको थिएन ।
दल विभाजन भएमा मुख्यमन्त्रीले १ महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । सोही व्यवस्था अनुसार नेकपा एमाले विभाजन भएपछि उनले विश्वासको मत लिन लागेका हुन ।
मुख्यमन्त्री आचार्यले आजको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून छ । ९२ सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउन ४७ सांसदको आवश्यकता पर्छ । तर प्रदेश १ मा एमालेका ४१ सांसद मात्रै रहेका छन् । उता गठबन्धनमा विमत्ति रहेको भनिएको नेपाली काँग्रेसले पनि आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
बिपक्षी गठबन्धनसँग चोखो ५० सांसद रहेका छन् । यो हिसाबले पनि मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना न्युन रहेको छ । यद्यपि नेकपा एमालेका सांसदहरु जसरी पनि बहुमत पुर्याउने लक्ष्यमा रहेका छन् । उता विपक्षी गठबन्धनले भने ९नेकपा० एकीकृतका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निश्चित गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend