काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री रामहरि खतिवडाले पार्टीलाई फेरि जनताको पहिलो रोजाइ बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले आफूलाई कठिन परिस्थितिमा सहमहामन्त्री पदमा निर्वाचित गराएको भन्दै मतदातासहित सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले नेपाली कांग्रेस पुरानो राजनीतिक इतिहास बोकेको पार्टी भए पनि नयाँ पुस्ताको आकर्षण बढाउने जिम्मेवारी अहिलेको नेतृत्वको काँधमा रहेको बताएका छन्। पुरानो पुस्ताको अनुभव र योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई पार्टीमा जोड्नुपर्ने उनको भनाइ छ।
खतिवडाले पार्टीभित्र व्यक्तिगत स्वार्थ, ईर्ष्या र द्वेषभन्दा माथि उठेर काम गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्। काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने र अनावश्यक रूपमा कुरा लगाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सके मात्रै पार्टी बलियो बन्ने उनको धारणा छ।
उनले ‘तेरो र मेरो’ भन्ने सोच त्यागेर राम्रो काम गर्ने र पार्टीप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। पार्टीलाई पहिलो र सबैको प्रिय बनाउन योग्य, मेहनती र इमानदार व्यक्तिलाई साथ लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
खतिवडाले आगामी दिनमा कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउने जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै आपसी एकता र सहकार्यमा जोड दिएका छन्। उनले आफूलाई अत्यधिक मत दिएर विजयी गराउने सबैप्रति आभार व्यक्त गर्दै पार्टीको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मंगलबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खतिवडा नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्। उनले कुल २ हजार ९ सय १९ मत प्राप्त गरेका छन्। खुलातर्फका उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका खतिवडाले अब पार्टीलाई एकताबद्ध बनाउँदै नयाँ पुस्तासँग जोड्ने र जनताको विश्वास बढाउने चुनौती सामना गर्नुपर्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend