काठमाडौं।श्री डिस्टिलरी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष ज्ञानेन्द्र खनालको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनसहित सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा अध्यक्ष खनालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीसहितको लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गरेको हो।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीको प्राथमिक सेयर निष्कासन (आईपीओ) सम्बन्धी प्रस्तावसमेत पारित भएको छ। यससँगै कम्पनीको आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउने बाटो खुलेको छ।
सभाले प्रबन्ध सञ्चालकको सेवा–सुविधा अनुमोदन तथा सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। सभामा प्रस्तुत अन्य प्रस्तावसमेत पारित भएसँगै कम्पनीको आगामी व्यावसायिक योजना तथा संस्थागत गतिविधिलाई अघि बढाउन आवश्यक निर्णय भएको छ।
काठमाडौं महानगरपालिका–११, बबरमहलमा केन्द्रीय कार्यालय रहेको श्री डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गरेसँगै पुँजी बजारमा प्रवेश गर्ने तयारीलाई थप अगाडि बढाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend